काठमाडौँ । सशस्त्र द्वन्द्वका क्रममा गैरकानुनी हत्या गर्ने, यातना दिने र बेपत्ता पार्ने दोषीमाथि कारबाहीको माग गर्दै पीडितले धमाधम उजुरी दिइहेका छन् ।

सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको संख्या मात्रै ५ हजार १ सय ६९ पुगेको छ ।

वैशाखको ५ बाट संकलन थालिएपछि दिनहुँ उजुरी बढिरहेको र देशैभरबाट पीडित खुल्ने क्रम जारी भएको आयोगले जनाएको छ । ‘आइतबार मात्रै ३ सय ८५ उजुरी परे,’ आयोगका अध्यक्ष डा. सूर्यकिरण गुरुङले भने, ‘फारमहरू ६ सय ८९ वितरण भए ।’

आयोगले आहवान गरेको सुरुको दिन देशभरबाट १ सय २५ उजुरी परेका थिए । ‘त्यसपछि कुनै पनि दिन १ सय २५ भन्दा कम उजुरी परेका छैनन्,’ गुरुङले भने, ‘सालाखाला दिनमा २ सयभन्दा माथि उजुरी परिरहेका छन् ।’

उनका अनुसार हालसम्म ९ हजार तीन सय ५२ फारम वितरण भइसकेका छन् । सबभन्दा बढीमध्ये पश्चिमाञ्चलबाट उजुरी परेको गुरुङले बताए । जस्तो ३ सय ८३ मध्ये आइतबारै मात्र सुदूर पश्चिममा १ सय ६४ उजुरी परे । त्यहाँ हालसम्म कति उजुरी परे भन्ने यकिन संख्या भने निक्र्योल हुन बाँकी रहेको उनले बताए ।

सबभन्दा उजुरी कम पूर्वाञ्चलमा परेका छन् । आइतबार त्यहाँ ३७ वटा उजुरी परेका थिए । असार २ गतेसम्म उजुरी लिने क्रम जारी भए पनि जेठबाटै त्यसमाथि छानबिन पनि थालिने गुरुङले बताए ।

Comments

comments