मेलबर्न । नेपाली लोकदोहोरी गीतको क्षेत्रमा पछिल्लो समय चर्चामा र बिवादमा आईरहने गायिका ज्योति मगर जहाँ जहाँ पुग्छिन् त्यहाँ कुनै न कुनै हंगामा गरेर फर्कन्छिन् ।

विशेष गरेर उनले लगाउँने पहिरन र उनको उत्तेजक प्रस्तुति चर्चाको विषय बन्ने गरेको छ । उनै कन्ट्रोभर्सी क्वीन ज्योति मगर यतिखेर कार्यक्रमको शिलशिलामा अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामा पनि ज्योतिले हंगामा मच्चाउँन कहाँ छोड्थिन् र ? तर यसपटक अष्ट्रेलियामा जे गरिन्,त्यसबाट उनका दर्शकहरु निकै छक्क परे ।
अष्ट्रेलियाको डर्विनमा आयोजित कार्यक्रममा ज्योति पूरै नेपाली गुन्युचोलीमा स्टेजमा आएकी थिइन् । टिपिकल मगरनीको

भेषभूषामा सजिएकी ज्योति यसरी गुन्यो चोलीमा सजिँदा दर्शकहरु निकै उत्साहित देखिन्थे । धेरैजसो कार्यक्रममा छोटा पहिरनमा आफ्नो प्रस्तुती दिने ज्योती मगरले गुन्यो चोलीमा प्रस्तुती दिँदा केहि दर्शकले अनौंठो मानेका थिए । हुन त ज्योतीले पहिलो पटक गुन्यो चोलीमा प्रस्तुती दिएकी त होइनन् तर उनका अधिकांश प्रस्तुती छोटा पहिरनमै हुने भएकाले पनि दर्शक माझ उनी हट गायिका तथा मोडल भनेर चिनिएकी छिन् ।

त्यसैले ज्योति मगरमा अचानक यस्तो परिवर्तन कसरी आयो त ? भन्ने प्रश्न दर्शकको मनमा उब्जनु स्वभाविकै थियो । हुन पनि ज्योति यसरी स्टेजमा गुन्यो चोलीमा त्यसै आएकी थिइनन् । अर्का गायक मिलन लामाको बिशेष पहलमा उनी गुन्यो चोलीमा गीत गाएकी हुन् । दौरा सुरुवाल टोपीमा सजिएका मिलन लामाले ज्योतिलाई गुन्यो चोलीमा स्टेजमा चढाएका हुन् । मिलनको आग्रहमा गुन्यो चोलीमा स्टेज आएकी ज्योतिले पनि आफुलाई गुन्यो चोलीमा गीत गाउँन पाउँदा निकै खुसी लागेको बताएकी थिइन् । साथै उनले मिलन लामाको सुझावले आफ्नो सोंचमै सकरात्मक परिवर्तन आएको बताईन् । दर्शकहरु हट एण्ड सेक्सी ज्योतिलाई मात्र हेर्न रुचाउँछन् भन्ने भ्रमबाट आफू मुक्त भएको उनले बताईन् ।

अष्ट्रेलियाका विभिन्न शहरमा हुने कार्यक्रमका लागि ज्योति र मिलन सहित गायक सन्तोष लामा,कालिप्रसाद बाँस्कोटा र हाँस्यकलाकार राजाराजेन्द्र पोखरेल अष्ट्रेलियामा छन् । यो समूहको अन्तिम कार्यक्रम मे २२ मा मेलबर्नमा हुँदैछ ।

Comments

comments