मेलबर्न । अष्ट्रेलियाले सन् २०२५ सम्मको रणनीति ‘ नेशनल स्ट्राटेजी फर इन्टरनेशनल एजुकेसन २०२५’ सार्वजनिक गरेको छ ।

विश्वका धेरै विद्यार्थीहरुको प्रमुख शैक्षिक गन्तव्यको रूपमा रहँदै आएको अष्ट्रेलियाले आगामी वर्षहरूमा विदेशी विद्यार्थीको संख्या दोब्बर बढाउने योजनामा उल्लेख छ । हालै सार्वजनिक अष्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा २०२५ ला लागि राष्ट्रिय रणनीतिले आगामी वर्षदेखि अष्ट्रेलिया अध्ययनका लागि आउने विद्यार्थीको संख्यालाई दोब्बर बनाउने नीति लिएको छ ।

अष्ट्रेलियन संघीय सरकारले लिएको यो नीतिले आगामी वर्ष देखि अष्ट्रेलिया स्टुडेन्ट भिसा एप्लाई गर्ने र पढ्न आउने विद्यार्थीको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ । अहिले वार्षिक ५ देखि ६ लाखको हाराहारीमा विदेशी विद्यार्थीहरु अष्ट्रेलियामा अध्ययनका लागि आउँने गरेका छन् । सन् २०१५ मा अध्ययन भिसामा अष्ट्रेलिया आउनेको संख्या ६ लाख भन्दा धेरै थियो । सन् २०१५ मा मात्र अष्ट्रेलियाले अन्तर्राष्ट्रिय शिक्षा सेवाबाट १९ बिलियन डलर कमाएको थियो । अन्तर्राष्ट्रिय शिक्षा अष्ट्रेलियाको आर्थिक आम्दनीको ठूलो स्रोतको रुपमा रहँदै आएको छ ।

अहिले विदेश पढ्न जाने विश्वभरका विद्यार्थीको ५० प्रतिशत हिस्सा विकसित ६ देशमा पर्दछ । ती मध्ये अष्ट्रेलिया तीन देशभित्र पर्दछ । उसको प्रतिस्पर्धा अमेरिका र बेलायतसँग छ । अमेरिकाले अध्ययनका लागि विदेशिने विद्यार्थीको कुलसंख्याको १९ प्रतिशत विद्यार्थी आफ्नो देश भित्र्याउने गरेको छ भने बेलायतले १० प्रतिशत । अमेरिकाको विद्यार्थी छनौट नीति कडा छ भने वेलायतको अध्यागमन कानुन विद्यार्थीलाई वेलायतमा स्थायी बसोबास गर्नको लागि सहज छैन । तर अष्ट्रेलियामा क्षमता भएका र योग्यता पुगेकालाई स्थायी बसोबास (पीआर) सजिलै मिल्ने भएकाले विश्वभरका विद्यार्थीहरुमा अष्ट्रेलिया आकर्षणको केन्द्रमा छ ।

यहाँका विश्वविद्यालय र कलेजले दिने शिक्षाको गुणस्तर, विश्वभर मान्यता साथै बजारको आवश्यकता अनुसारको कोर्ष डिजाइन भएका कारण पनि विद्यार्थीहरूले अष्ट्रेलियालाई अध्ययन गन्तव्यका रूपमा रोज्ने गरेका छन् । इन्टरनेशनल स्टुडेन्ट सर्भे (२०१४) अनुसार ९३ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीले अष्ट्रेलियाको शैक्षिक संस्थाको गुणस्तर र यहाँको व्यक्तिगत सुरक्षाको कारण अष्ट्रेलियालाई अध्ययनको गन्तव्यका रूपमा रोजेको बताएका थिए ।

अष्ट्रेलियाले सन् २०१३ देखि यहाँ उच्चशिक्षा अध्ययन पुरा गर्ने विद्यार्थीलाई २ वर्षको ‘पोस्ट स्डटी वर्क’को अवसर प्रदान गर्ने गरेको छ । यसकारण विद्यार्थीले पढाई सकेपछि यहाँ अष्ट्रेलियामा दुई वर्ष काम गरेर यहाँको अनुभव लिन सक्ने व्यवस्था छ । निश्चित योग्यता पुगेपछि स्थायी बसोबासको अनुमति समेत पाउँने भएकोले नेपाली सहित विदेशी विद्यार्थीहरुको रोजाइको गन्तव्यमा अष्ट्रेलिया परेको छ ।

Please follow and like us:

Comments