काठमाडौं । व्यवस्थापिका–संसद्को बजेट अधिवेशन मंगलबारदेखि सुरु भएको छ । पहिलो दिनको बैठक भने करिव पाँच मिनेटमै सकिएको छ ।

बैठकको सुरूमा नै संसद उपस्थित सबै सांसदलाई सभामुख ओनसरी घर्तीले स्वागत गरिन् । त्यस्तै लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने सहिदप्रति दुई मिनेट मौनधारण गरिएको थियो ।

बैठकमा राष्ट्रपति कार्यालयबाट संसद्को दोस्रो अधिवेशन आह्वान गरिएको सम्बन्धी पत्र सभामुखले वाचन गरिन् । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो ।

व्यवस्थापिका–संसद् कार्यसञ्चालनसम्बन्धी नियमावली निर्माणमा दलबीच सहमति भइनसकेकाकारण बैठकमा अन्य कार्यसूची समावेश भएनन् । त्यसैले अर्को बैठक भोलि बुधबार बिहान ११ बजे बस्ने गरी सकिएको छ ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशनलाई आउँदो २६ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

यसवर्षदेखि जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी व्यवस्था संविधानमा नै उल्लेख छ । प्रस्तुत नीति तथा कार्यक्रममाथि दफावार छलफल भएपछि जेठ १५ गते बजेट प्रस्तुत गर्ने सरकारको तयारी छ ।

Comments