मेलबर्न । प्रवासी नेपाली मञ्च भिक्टोरियाको आयोजनामा विद्यार्थीहरुको परिचयात्मक अन्तरक्रियासहितको बार्बिक्यू कार्यक्रम सम्पन्न भएको छ ।

मेलबर्नको स्थानीय कोबर्ग पार्कमा सम्पन्न भएको बार्बिक्यूमा मञ्चका सदस्यहरुका साथै नेपाली समूदायको तर्फबाट भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जन, न्याभका पूर्वअध्यक्ष बम योञ्जन, ओएनएफका संस्थापक अध्यक्ष डा. जगदिश तिम्सिना, नेपाली जनसम्पर्क समितिका दुर्गा आचार्यलगायत उपस्थित हुनुहुन्थ्यो । साथै स्थानीय लेबर पार्टीका नेताहरु समेत सहभागी भएका थिए ।

मेलबर्नमा पढाईको सिलसिलामा आएका नयाँ विद्यार्थीहरुलाई समूदायसँग परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष कृष्णप्रसाद न्यौपानेले बताउनुभयो । उहाँले ओएनएफ भिक्टोरियाले आगामी दिनमा पनि विविध कार्यक्रम गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । त्यसक्रममा हरितालिका तीजको अवसरमा आगामी अगष्ट ७ र ८ तारिख विशेष कार्यक्रम गर्ने तयारी गरेको छ । जस अनुसार अगष्ट ७ मा ब्रन्सविकस्थित ईस्टोनिया हाउसमा तीजको दरखाने कार्यक्रम गरिने भएको छ भने ८ तारिख माउन्स बैंबलीको पाम रेष्टुरेन्टमा कार्यक्रम गरिनेछ । उक्त कार्यक्रममा कलाकारहरु पशुपति शर्मा र मञ्जु पौडेलसहित स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ ।

यसैगरी संस्थाले अक्टोबर ३० तारिखमा विशेष तिहार कार्यक्रम गर्ने र देउसी भैलोको योजना समेत बनाएको अध्यक्ष न्यौपानेले बताउँनुभयो ।

डिसेम्बर महिनामा अभिभावक भेला गर्ने, फेब्रुअरी १२ मा अनेरास्ववियुकी अध्यक्ष नविना लामा र शान्ता चौधरीसहितको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गर्ने र यसबाट आएको रकम शान्ता चौधरी फाउन्डेशनलाई सहयोग गर्ने योजना रहेको पनि उहाँले बताउँनुभयो ।

यस्तै वार्षिक रुपमा दुईजना बालबालिकालाई वार्षिक ५० हजारको छात्रवृत्ति दिने योजना समेत बनाएको छ । महिनामा कम्तिमा एउटा कार्यक्रम गर्ने लक्ष्यका साथ आफूहरु क्रियाशील रहेको अध्यक्ष न्यौपानेले बताउँनुभयो ।

Comments