मेलबर्न । आइतवार नेपाली युवा विद्यार्थीका लागि तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ । नेप्लीज युथ एशोसियसनले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्वहरुले परामर्श दिनुभएको थियो ।

कार्यक्रमममा आयोजकको तर्फबाट मन्तव्य राख्दै बुद्धिमान गुरुङले एनवाइएले विद्यार्थीहरुका विभिन्न विषयमा सहकार्य गर्दै जाने लक्ष्य बमोजिम यो कार्यक्रमको आयोजना गरेको बताउँनुभयो । यस्तै सानो सानो कार्यक्रमहरु गरेरै आफ्नो उदेश्य हासिल हुनेमा आफूहरु विश्वस्त रहेको उहाँको कथन थियो ।

कार्यक्रममा डा दीपकचन्द्र पोखरेलले अष्ट्रेलियाको स्वास्थ्य क्षेत्रको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउँनुभयो । अर्का अतिथि डा अनुपम पोखरेलले विद्यार्थीहरुले आफ्नो तनाव कसरी कम गर्न सकिन्छ ? भन्नेबारेमा मनोवैज्ञानिक परामर्श दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भिक्टोरिया राज्यका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले नेपालीहरुबीचको एकतामा जोड दिनुभयो । यहाँ रहेका सबै नेपालीमा हामी एक हौं र छौं भन्ने भावना मात्र भए पनि धेरै समस्या र चुनौतिहरु मिलेर समाधान गर्न सकिने धारणा राख्नुभयो । साथै उहाँले नेपालीहरुले अष्ट्रेलियामा हासिल गरेका उपलब्धीहरुको उदाहरण दिनुहुँदै नेपालीका लागि अष्ट्रेलिया उपर्युक्त गन्तव्य भएको बताउँनुभयो ।

कार्यक्रममा विज्ञहरुको कुरा सुनिसकेपछि धेरै विद्यार्थीहरुले आफूमा सकरात्मक विचारको विकास भएको प्रतिक्रिया दिए । अहिले नै केही गरौं, तत्कालै सकारात्मक सोचौं, जस्तो भएको छ । एउटा नयाँ ऊर्जा आएको छ ।” कार्यक्रममा सहभागी ईश्वर चिन्तनले बताए ।

अर्की सहभागी विद्यार्थी सावित्रा पौडेलले पनि चन्द्र योञ्जन लगायतको कुरा सुनेर आफूभित्र आत्मविश्वास जागेको बताईन् । भोलि दर्जनौं शेष घले बन्न सक्ने आत्मविश्वास बढेको उनको भनाइ थियो ।

Comments

comments