काठमाडौं । आइतबार १२७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी श्रमिक दिवस मनाउँछन् ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

यो वर्ष अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ (स्वतन्त्र)लगायतका मजदुर सङ्गठनले सभा ¥यालीलगायतका विविध कार्यक्रम गर्दैछन् ।

संविधानमा व्यवस्था भएको श्रमिक हकअधिकारका व्यवस्था कार्यान्वयनमा यसवर्षको दिवस केन्द्रित गरिएको छ । यसैबिच, ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले आफूहरूको श्रमको सम्मान हुनुपर्ने माग गर्दै शान्तिबाटिकामा ¥याली गर्दैछन् ।

यस्तै दश मजदुर सङ्गठनको संयन्त्र ‘संयुक्त ट्रेड युनियन समन्वय केन्द्र’ले श्रम आयोग गठन गर्नुपर्ने माग गरेको छ ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिन्छ ।

Comments

comments