मेलबर्न । अष्ट्रेलिया नेपाली फिल्मका लागि नेपालपछिको दोस्रो बजार बनिसकेको छ । यहाँ हरेक साता नयाँ नयाँ नेपाली फिल्म रिलिज हुन थालेको धेरै भैसकेकोछ । राम्रा र सम्भावनायुक्त फिल्मले अष्ट्रेलियाबाट लाखौं रुपैयाँको आम्दानी समेत गर्ने गरेका छन् ।

तर रिलिज भएका चर्चामा रहेका प्रायः सबै फिल्म अष्ट्रेलियामा प्रदर्शन हुने गरे पनि रेखा थापाको फिल्म यहाँ नआउँनुलाई भने अहिले अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । रेखाको केही साता अघि मात्र रामप्यारी रिलिज भएर हिट भएको थियो । तर यो फिल्मलाई अष्ट्रेलियामा ल्याउँने कुनै योजनासम्म बनेन । यस्तै गतवर्षको उनको सुपर हिट चलचित्र हिम्मतवाली पनि अष्ट्रेलिया आइपुगेन । रेखा र उनको फिल्मप्रति अष्ट्रेलियन नेपाली समुदायले गरिरहेको वेवास्ता संयोग मात्र हो भन्न नसकिने धेरैको मत छ ।

यहीबीच मेलबर्नमा नेपाली समुदायबीच आदरणीय व्यक्तित्वका रुपमा रहनुभएका सोलाङ्चर दाइ अर्थात राजु शाक्यले फेसबुकमा राख्नुभएको पछिल्लो स्टाटसले नयाँ वहस शुरु गरेको छ । उहाँको स्टाटस यस्तो छ–अष्ट्रेलियामा हरेक थरिको नेपाली फिल्म आउने, तर रेखा थापाको फिल्म चाहिं किन नआउने हो ? अष्ट्रेलियामा बस्ने नेपालीहरुले रेखा थापा मन नपराएको हो कि अष्ट्रेलियाको इभेन्ट कम्पनीहरुले रेखा थापालाई सामूहिक बहिस्कार गरेको हो  ?

यही विषयमा अष्ट्रेलियाका लागि फिल्म प्रदर्शनको अधिकार किन्ने एक कम्पनी निकटस्थसँग हिमालयन कङ्गारुले प्रतिक्रिया लिएको थियो । उनका अनुसार रेखा थापाका फिल्महरु वास्तविकता भन्दा निकै पर रहेर निर्माण गरिएका हुन्छन् । फिक्सन भित्र पनि कोर्रा आदर्श र हिरोइज्ममा आधारित हुन्छन् । यस्ता फिल्महरु यहाँको नेपाली दर्शकहरुले मन नपराउँने डरले रेखाको फिल्म ल्याउँदा धेरै जोखिम हुने उनको तर्क थियो ।

Comments

comments