मेलबर्न । नेपाली विद्यार्थीहरु अष्ट्रेलिया आउँदा अनेक सपनाहरु बोकेर आउँछन् । कन्सल्ट्यान्सीहरुको बाध्यता भनौं या व्यवसाय,उनीहरुले अझ केही सपनाहरु थपि दिन्छन् । तर जब उनीहरु अष्ट्रेलिया आइपुग्छन् तब सोचेको भन्दा विल्कुल फरक वातावरण पाउँदछन् ।

व्यस्त र प्रतिस्पर्धी जीवनशैलीबाट कतिजना त आत्तिन्छन् पनि । यसले गर्दा उनीहरुमा मानसिक तनाव र दबाब दुवै उत्पन्न हुन्छ । यसको वेलैमा सहजीकरण गर्न नसक्ने विद्यार्थीहरु कुलत र गलत निर्णयको शिकार समेत हुन्छन् । यसका लागि स्वास्थ्य र मानसिक परामर्शको खाँचो हुन्छ ।

यही खाँचो पूरा गर्न मेलबर्नमा विशेष कार्यक्रमको आयोजना गरिदैछ । आगामी मे १ का दिन कन्सुलेटको कार्यालयमा हुने कार्यक्रममा नेपाली विद्यार्थीहरुसँग उनीहरुका समस्या,चुनौति र सम्भावनाहरुका बारेमा छलफल गरिनेछ । उनीहरुसँगको छलफलको आधारमा वरिष्ठ मनोचिकित्सक,शिक्षा विद र समाजका वरिष्ठ व्यक्तित्वहरुले परामर्श दिने कार्यक्रम तय भएको छ ।

यसका लागि जनरल फिजिसियन डा चन्द्रदीपक पोखरेल,मनोचिकित्सक डा अनुपम पोखरेल र कन्सुलर चन्द्र योञ्जनले कि पर्सनका रुपमा विद्यार्थीहरुलाई आफ्ना अनुभव सुनाउँनुका साथै परामर्श समेत प्रदान गर्नुहुनेछ ।

नेप्लीज युथ एशोसियसनको आयोजनामा हुने यो सेमिनारमा सहभागी भैसकेपछि अष्ट्रेलियामा विदेशी विद्यार्थीहरुका प्रमुख समस्याहरु पत्ता लाग्नेछन् भने अध्ययनका क्रममा आइपर्ने समस्याहरुसँग कसरी सामना गर्ने भन्ने उपाय तय गर्न मद्दत पुग्नेछ । यस्तै विद्यार्थीहरुमा आत्मविश्वास र इच्छाशक्ति बढ्ने,समस्याको समाधान आफैंले गर्ने र आइपर्ने आर्थिक संकटको समाधानका उपायहरु पनि पत्ता लाग्ने विश्वास गरिएको छ ।

बलियो र सहयोगी सामुदायिक वातावरण निर्माणको उदेश्य सहित नेप्लीज एशोसियसन अफ भिक्टोरिया र अष्ट्रेलियन नेप्लीज मेडिकल एण्ड डेन्टल एशोसियसनको सहयोगमा यो सेमिनार हुन लागेको हो । सेमीनार साँझ ५ः३० बजेपछि शुरु हुनेछ ।

Comments

comments