मेलबर्न । सांगीतिक कार्यक्रम भन्ने वित्तिकै नाच्नैपर्छ र कलाकारले गाउँने गीत संगीत दर्शक उफार्ने शैलीको हुनुपर्छ भन्ने धेरैको आम धारणा रहेको पाइन्छ ।

तर यो गीत संगीतको होइन मान्छेहरुले आफू खुशी गरेको पछिल्लो व्याख्य मात्र हो । किनभने जुनसुकै गीत होस्,त्यसमा मुटु र ज्यान हुनुपर्छ । अनि त्यसमा प्राण भर्ने काम कलाकारको हो । शायद गायक कर्णदासको प्रत्यक्ष गायन सुनेपछि मेलबर्नवासी दर्शकहरु पनि यसमा सहमत भएका छन् ।

किनभने आइतवार आयोजित कार्यक्रममा देखिएको दर्शकहरुको भीडले कर्णदास नेपाली श्रोता र दर्शकको मनमा अझै राज गरिरहेका छन् भन्ने दर्शाएको थियो । अनि जब ती दर्शक र श्रोताहरुबीच कर्णदासले गाउँन शुरु गरे..दर्शक र श्रोताहरु यति मग्न देखिन्थे कि कतिखेर गीत सकिन्थ्यो थाहा नै हुन्नथ्यो । जब गीत सकिएको पत्तो पाउँथे तब वान्स मोरको एकै आवाज हलभरि गुञ्जिन थाल्थ्यो ।

karnadas 1मेलबर्ननमा आयोजना गरिएको उनको कन्सर्टमा लाईभ म्युजिकका साथ कर्णदासले करिब तीन घण्टा गाए । तर दर्शक र श्रोता उनको गीत सुनेर रत्तिभर पनि अघाएनन् । त्यसैले कति गीत त उनले दोहोर्याएर नगाई धरै पाएनन् । स्थानीय थनवरी थियटरमा आयोजना गरिएको कार्यक्रममा कर्णदासले ठूला ठूला महल हैन‘ बोलको गीतबाट सुरु गरेर जब अन्तिममा जिन्दगीको के भरोसा गीत गाएर विट मार्न खोजे तब दर्शकहरु यति धेरै उनको गीत संगीतमा झुमेका थिए कि उनीहरुले वान्समोरको नारा नै लगाए ।

कलाकारका लागि शायद दर्शक र श्रोता नै सबथोक हुन्,घण्टौं गाएर गला सुकेर दुख्न थाले पनि कर्णदासले रत्तिभर पनि झिंजो मानेनन् । बरु खुशीका साथ फेरि गाइदिए–जिन्दगीको के भरोसा ।

शायद गीतको प्रभावले होला केही दर्शकहरुका आँखा रसाइसकेका थिए । मन थाम्न सक्नेहरुका पनि मनमा अर्कै तरंग उठिरहेको थियो ।

दश वर्षपछि कम ब्याक गरेका कर्णदास पनि अष्ट्रेलियामा पनि नेपाली श्रोता र दर्शकहरुले आफ्ना लागि यति धेरै माया,सम्मान र विश्वास साँचेर राखेको देख्न र महसूस गर्न पाएर खुशी भए । यहाँ पाएको साथ र समर्थनबाट आफु निकै उत्साही भएको उनको प्रतिक्रिया थियो ।

अन्त्यमा आयोजक सेभेन ईपिक ईन्टरटेन्मेन्टको तर्फबाट उज्वल घिमिरेले प्रायोजकसहित उपस्थित सबैलाई धन्यवाद दिएका थिए । उपस्थित दर्शकहरुले सम्झनास्वरुप कर्णदासका कालजयी गीतहरुका साथै नयाँ एल्बम समेत उपहार पाएका थिए । एल्बमबाट प्राप्त हुने सम्पूर्ण रकमलाई पोखराको बृद्धाश्रममा दिने योजना कर्णदासको रहेको छ ।

कर्णदासको यस पटकको मेलबर्न कन्सर्टका लागि उनीसहित करिब ८ जना वाद्यवादकहरुको टोली सिड्नीबाट आएको थियो । कार्यक्रममा केही स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।

Comments

comments