काठमाडौँ । ‘गोरखा भूकम्प’ गएको आइतबार एक वर्ष पूरा भएको छ ।

विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गएको ७.६ रिक्टर स्केलको भूकम्पबाट यसबाट करिब नौ हजार नेपालीको मृत्यु भयो भने दुई हजार २०० भन्दा बढी घाइते भए । झन्डै पाँच लाख घर ध्वस्त भए । हजारौँ घरबारविहीन भए । त्यसपछिका केही ठूला र निरन्तर परकम्प जाने क्रम अझै नरोकिदा नेपालीलाई त्रसित बनाइरहेको छ ।

वर्षभरिमा साना ठूला गरी ३० हजारभन्दा बढी परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हालसम्म ४ रिक्टर स्केल र त्यसभन्दा माथिका ४४९ परकम्प गएका छन् । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपालमा विसं १९९४ देखि २०७२ वैशाख १२ को भूकम्प हेर्दा करिब ६० हजार भूकम्प गएका छन् ।

नेपालमा मात्र हैन, यसबीचमा छिमेकी मुलुक भारत, पाकिस्तान, जापान इन्डोनेसिया र चिलीमा ७ देखि ७.९ रिक्टर स्केलका भूकम्प गएका छन् । हालै इक्वेडरमा ७.८ र चिलीमा ७.९ रिक्टरको भूकम्प गएको थियो ।

भूकम्पसम्बन्धी विश्वका तथ्याङ्क हेर्दा हरेक वर्ष औसतमा एक वटा ८ रिक्टर स्केलभन्दा ठूलो भूकम्प गएको देखिन्छ । त्यस्तै ७.९ रिक्टरका १५ र ७ देखि ७.९ र ६ देखि ६.९ रिक्टरसम्मका १३० भन्दा बढी भूकम्प गएका छन् ।

Comments

comments