मेलबर्न । नेपालमा गतवर्ष गएको भूकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झनामा अष्ट्रेलियाका विभिन्न शहरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिने भएको छ ।

करिब ९ हजारको ज्यान जानेगरी गएको महाविनाशकारी भूकम्पको वर्ष दिन पुगेको सन्दर्भ पारि मृतकहरुको स्मरणमा अप्रिल २५ तारिख सोमवारका श्रद्धाञ्जली कार्यक्रम गर्न लागिएको हो । श्रद्धाञ्जली कार्यक्रम डार्विन,पर्थ,मेलबर्न, सिड्नी र ब्रिसबेनमा हुने तय भएको छ । कार्यक्रमलाई विभिन्न संघ संस्थाले आयोजना गर्न लागेका हुन् ।

एनआरएनको पहलमा डार्विनमा सोमबार श्रद्धाञ्जली कार्यक्रम हुन लागेको हो । सोही कार्यक्रममा भूकम्प पीडितका नाममा एक वर्षभित्र डार्विनमा संकलित सहयोग रकम समेत सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी मेलबर्नमा नेप्लीज एशोसिएसन अफ भिक्टोरिया, एनआरएन, महावाणिज्यदूतको कार्यालयको संयुक्त पहलमा सोमबार नै दिउँसो २ बजेदेखि ४ बजेसम्म महावाणिज्यदूतको कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा लामा गुरुहरुबाट मन्त्रोच्चारणसहित शान्तिको कामना गर्ने र दिप प्रज्वलन गर्दै दिवंगतहरुको स्मरण गर्ने कार्यक्रम तय भएको महावाणिज्यदूत कार्यालयले जनाएको छ । यसैगरी नेप्लीज युथ एशोसिएसनले पनि सोही दिन साँझ ग्लेनरोय स्टेशनमा मैनबत्तीसहित स्मरणसभा गर्ने भएको छ ।

lahuriसोमवार नै सिड्नीमा पनि नेपाली अष्ट्रेलियन युथ एशोसिएसन नयाले सिड्नीको एसफिल्डमा साँझ ५ बजेदेखि मैनवत्ति प्रज्वलन गरेर महाविनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मरण गर्दैछ । स्थानीय लाहुरी ग्रुपसँग मिलेर कार्यक्रम गर्न लागिएको नयाले जनाएको छ ।

उता एनआरएन क्वीन्सल्याण्डले पनि सोमबार साँझ ५ः३० बजेदेखि नेपाली पगोडा साउथवैंक ब्रिसबेनमा शान्तिको कामना गर्ने भएको छ ।

Comments

comments