गोरखा । ‘गोरखा भूकम्प’ गएको एक वर्ष पुगेको दिन वैशाख १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प स्मृति पार्कको शिलान्यास गर्नुहुने कार्यक्रम तय भएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समिति गोरखाले भूकम्पमा परी ज्यान गुमाएकाको सम्झनामा बारपाक–४ मा स्मृति पार्क बनाउने निर्णयअनुसार राष्ट्रपतिले शिलान्यास गर्ने कार्यक्रम रहेको स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो । स्थानीय निकाय र सरकारको स्वामित्वमा रहेको २१८ रोपनी क्षेत्रफल र कित्ता नम्बर ५९४ मा रहेको पर्ति जग्गामा स्मृति पार्क बनाउने निर्णय गरिएको हो । सो जग्गा पार्क बनाउन उपयुक्त रहेको अध्ययन समितिले बताएको छ । जिल्ला प्राविधिक कार्यालय, नापी कार्यालय, जिल्लास्थित भवन कार्यालयका प्राविधिकले पार्क बनाउन उपयुक्त रहेको निर्णय दिएपछि सोही ठाउँमा स्मृति पार्क बनाउन लागिएको हो । बारपाक गाउँदेखि माथि जङ्गलदेखि तल बीचको खाली जमिनमा पार्क बनाउन लागिएको आचार्यले बताउनुभयो । “जिविसले पार्क बनाउने तयारी गरेकै ठाउँमा भूकम्प स्मृति पार्क बनाउने तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “वैशाख १२ मा राष्ट्रपतिले स्मृति पार्कको शिलान्यास गर्नुहुन्छ ।”

यस्तै, भूकम्पले क्षति पु¥याएको वडा नं ५ को बस्तीलाई पनि पार्कमा गाभ्ने तयारी गरिएको छ । भूकम्पले जमिन चिराचिरा हुँदा वडा नं ५ का ४० घरधुरी दलित बस्तीका भूकम्पप्रभावित वडा नं ४ को सरकारी जग्गामा टहरो बनाएर बस्दै आएका छन् । उनीहरुले आफूहरुलाई स्थापित गरेपछि मात्रै पुनःनिर्माणको काम सुरु गर्न आग्रह गर्दै आएको भए पनि वैशाख १२ गते बारपाकमा अनुदान प्रक्रिया सुरुवात गर्न एकजना लाभग्राहीसँग अनुदानको सम्झौता गर्ने तयारी गरिएको छ । “राष्ट्रपतिले एउटा घरको शिलान्यास गरी पुनःनिर्माणको अभियान सुरु गर्नुहुनेछ”, आचार्यले भन्नुभयो, “क्षेत्र नं २ को हंसपुर र ३ को बारपाकबाट पुनःनिर्माणको काम सुरु हुन्छ ।” क्षेत्र नं १ को कुन गाविसबाट पुनःनिर्माणको थालनी गर्ने भन्नेबारे यकिन नभएको आचार्यले जानकारी दिनुभयो ।

सांसद, जिल्लास्थित राजनीतिक दललगायतसँग समन्वय गरी गोरखा पुनःनिर्माणको काम अघि बढाउने तयारी गरिएको हो । यस्तै, भूकम्प गएको एक वर्ष पुगेको दिन वैशाख १२ मा बारपाकमा दश ओटाभन्दा बढी कार्यक्रम तय भएका छन् । सरकार, दातृ निकाय, राष्ट्र्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका हुन् । भूकम्पले गोरखामा ४७२ जनाको निधन भएको थियो भने एक हजार १०० भन्दा बढी घाइते भएका थिए । करिब ७० हजार ओटा घर भूकम्पले पूर्णरुपमा ध्वस्त बनाए पनि पुनःनिर्माणको सुरुवात भएको थिएन । रासस

Comments

comments