–गीता सिलवाल

यहाँ मैले सम्पूर्ण पुरुष जातिलाई कदाचित गाली गर्न वा केही भन्न खोजेको होइन । हामी नारीले सम्मान गर्ने आदरणीय अनि पुजनीय व्यक्तिहरुमा सबै पुरुष नै छन्, जसमा महापुरुष, गुरु, शिक्षक, बाबु, दाजु–भाइ, श्रीमान् र असल मित्र पर्दछन् । जसलाई हामीले सदा सर्वदा सम्मान गर्छौं । त्यस्ता पुरुषले आफू काँडेतार र ढाल बनी हामी नारीलाई सदा सर्वदा सुरक्षित गरी राखेका छन् ।

तर, यदाकदा घटने केही घटनाहरुले मलाई आजकल ‘पुरुष’ भन्ने शब्द सम्झिदा पनि काँडा उम्रने गर्दछ । डर लाग्छ, घृणा जागेर आउँछ, साथसाथै घिन पनि लाग्छ । सबै पुरुष ती ‘पुरुष’ होइनन्, तर आफ्नो पुरुषत्व देखाउन उद्यत् भएका ‘पुरुष’ प्रति चाहिँ साँच्चै डर र घिन दुवै लाग्छ मलाई ।

हाम्रो समाजमा एउटा उखान प्रचलित रहेको छ कि –‘बोरामा एउटा आलु कुहियो भने बोरै गनाउँछ र अन्य राम्रा आलुलाई समेत कुहाउँछ ।’ हो…, यहाँ…, अब…, नारीले पुरुषलाई हेर्ने नजर पनि त्यही किसिमको भइसकेको छ । अब हामीले यो सोच्न बाध्य भइसक्यौं कि त्यो कुहिएको आलु मात्र झिकेर फाल्ने कि नझिकी बोराको पूरै आलु कुहिन दिने ।

यस्ता गम्भीर प्रकृतिका अपराध गर्ने अपराधीलाई जबसम्म आफूलाई पीडाको बोध हुँदैन, तबसम्म त्यस्ता अपराधीले जन्म लिइरहन्छन् र यस्ता प्रकृतिका घटना पनि दोहोरिरहन्छन् । अनि फेरि यस्ता अवोध बालिकालाई आफ्नो हवसको शिकार बनाई मानवताको पराकाष्ठा नाघिरहेका हुन्छन् । मानव विरुद्धको जघन्य अपराधका रुपमा त्यस्ता यौन पिपासुलाई यस्तो खालको सजायको बन्दोबस्त होस् जसका कारण फेरि अर्को यौन पिपासु न जन्मियोस् । कुनै पनि गल्ती नगरेको अन्जान अनि निर्दोष पशुलाई आफ्नो मनोरञ्जनका लागि लखेटी लखेटी, घोची घोची वलि दिने गरेको नजारा हामीले हाम्रो समाजमा यदाकदा कुनै कुनै समुदायमा देखेका छौं नि … ।

हो…, यस्ता जघन्य अपराध गर्ने यौन पिपासु, जसलाई पशुको दर्जामा पनि राख्न सुहाउँदैन, त्यस्ता निर्दोष पशुलाई वलि दिनुको सट्टा त्यस्ता यौन पिपासुलाई त्यसैगरी, पीडा दिई दिई… तड्पाई तड्पाई… घोची घोची वलि दिएर मनोरञ्जन गर्ने सजायको व्यवस्था गर्नुपर्दछ । अनि थाहा होस्… आफ्नो मनोरञ्जन पूरा गर्दा कस्तो पीडा हुँदो रहेछ भनेर….। ती कथित पुरुषहरुको क्षणिक उत्तेजनाका लागि अवोध बालिकाहरुको बलि चढाइरहेको अवस्थामा ती पुरुष जातिकै कलंक पुरुषहरुलाई पनि बलि चढाउँन किन नदिने ?

के साँच्चै हामी नारी, महिला अनि छोरीको जन्म लिएर यो धरतीमा जीवन बाँच्न आउनु अभिषाप नै हो त…..? एक पटक हामी सबैले सोच्ने बेला ‘साँच्चै’ आइसकेको रहेछ ।

लेखिका कानून व्यवसायी हुनुहुन्छ ।

Comments