काठमाडौं । तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक ‘तेमाल जात्रा’ आज विहीवार बौद्धनाथ चैत्यबाट सुरु भएको छ ।

जात्राको पहिलो दिन आज विहानैदेखि दिवङ्गत पितृको स्मरणमा बत्ती बाली लामागुरुहरुद्धारा ङोवा (पूजापाठ) गर्नेहरुको बौद्धनाथमा भीड लागेको छ ।

प्रत्येक वर्ष चैतशुक्ल चतुर्दर्शी तिथिमा सो समुदायले दिवङ्गत पितृको स्मरणमा बत्ती बाली लामागुरुहरुद्धारा ङोवा (पूजापाठ) गर्ने प्रचलन छ । यो जात्रा प्रत्येक वर्ष चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध र पूर्णिमाको दिन स्वयम्भूमा लाग्ने गर्छ । सो अवसरमा बत्ती बाली पूजापाठ गर्नाले मृतकको आत्माले चिर शान्ति प्राप्त गर्ने र आफन्तजनहरुको समेत मानोकांक्षा पूरा हुने धार्मिक मान्यता रहँदै आएको छ । बौद्ध महाचैत्यमा सुरु हने जात्रा पूर्णिमाको दिन बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूमा पूजाआजासहित विसर्जन हुने गर्दछ ।

यो जात्रा तामाङ समुदायको धार्मिक एवं साँस्कृतिक पहिचानको रुपमा समेत रहेको छ । जात्रामा विशेष गरी तामाङ समुदायको उद्गम तथा आदिथलो मानिने काभ्रेको तेमालबाट भक्तजनहरुको बढी सहभागिता रहने गर्छ । बौद्ध महाचैत्यमा सुरु हुने जात्रा पूर्णिमाको दिन बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूमा पूजाआजासहित विसर्जन हुने गर्दछ । काठमाण्डौ उपत्यकाका तीन जिल्लालगायत रामेछाप, नुवाकोट, मकवानपुर, दोलखा, सिन्धुलीबाट समेत जात्रामा लाखौंको सहभागिता रहने गर्छ ।

यसैबीच तेमालजात्रा (बौद्धजात्रा)को व्यवस्थापनका लागि बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा विभिन्न संघ संस्थाहरु सम्मिलित तेमालजात्रा (बौद्धजात्रा) व्यवस्थापन समिति–२०७३ गठन गरिएको छ । समितिले दिएको जानकारी अनुसार जात्राको उदघाटन श्रद्धेय गुरु नाम्खा ठिले रिन्पोछेबाट गर्ने कार्यक्रम छ ।

यस्तै जात्राको अवसरमा रिम्पोछेले बौद्धधर्म सम्बन्धी प्रवचन र आशिर्वाद दिने कार्यक्रम समेत रहेको छ । सोही अवसरमा रक्तदान, निःशुल्क पानी वितरण, स्वास्थ्य शिविर लगायतको व्यवस्था मिलाइएको छ । जात्रामा परम्परागत फापर ह्वाई तथा विविध साँस्कृतिक कार्यक्रम पनि हुने आयोजक समितिले जनाएको छ ।

Comments

comments