काठमाडौं । नेपालको वैदेशिक रोजगारीको एक प्रमुख मुलुक संयुक्त अरब इमिरेट्स यूएईले वैशाख २८ गते नेपालमा आवासीय दूतावास स्थापना गर्ने भएको छ ।

दूतावास उद्घाटनका लागि यूएईका विदेशमन्त्री अब्दुल्लाह विन जाएद अल नहयन वैशाख २८ गते काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ । विदेशमन्त्री अब्दुल्लाह विशेष विमानबाट सीधै काठमाडौ आउने परराष्ट्र अधिकारीहरूले बताए । विदेशमन्त्री अब्दुल्लाहले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग सोही दिन भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यूएईले नेपालका लागि पहिलो राजदूतको नाम पनि प्रस्ताव गरिसकेको छ ।

नयाँ राजदूतको एग्रिमो समेत स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ ।

नेपालले सन् २००४ को अप्रिलमा अबुधाबीमा दूतावास खोलेको थियो । युएई सरकारले भने केही समयअघि मात्र नेपालमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो ।

यूएईले हालसम्म नयाँदिल्लीस्थित आफ्नो दूतावासबाट नेपाल मामिला हेर्दै आएको थियो ।

Comments

comments