जुम्ला । प्रहरी जवान भर्ना छनौट प्रक्रिया अब कर्णालीमा पनि शुरु भएको छ ।

अञ्चल प्रहरी कार्यालय जुम्लाले आइतबारदेखि जुम्लामा पहिलोपटक प्रहरी जवान पदको प्रारम्भिक परीक्षण कार्य सुरु गरेको हो । अब कर्णालीको युवाहरु प्रहरी भर्ना हुनकै लागि नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ ।

कर्णालीको युवा शक्ति प्रहरी भर्नामा न्युन संख्यामा भर्ति भएको र प्रहरी भर्ना हुनमै हजारौं खर्च हुने भएकोले प्रहरी प्रधान कार्यालयले कर्णालीको लागि जुम्लामा छनौट भर्ना प्रक्रिया थाल्न सुरु गरेको हो । प्रत्येक दिन ७० जनाको प्रारम्भीक जाँच लिईने भएको छ । कर्णालीको ७ सय ४६ जनाको दरखास्त दर्ता भएकोमा आइतवारदेखि छनौट प्रक्रिया सुरु भएको हो ।

कर्णालीको जुम्लामै भर्ना प्रक्रिया सुरु गरेपछि आर्थिक भार कम पर्न जाने विश्वास गरिएको छ । अञ्चल प्रहरी कार्यालय कर्णालीले स्वास्थ्य परिक्षण, दौड, छाती नाप, शरीरको तौललगायतको प्रक्रिया आइतबार विहान ८ वजेदेखि सुरु भएको हो । पहिलो पटक थालिएको प्रहरी भर्ना छनौट कार्य निष्पक्ष र पारदर्शी पूर्ण हुने भन्दै शंका नगर्न सम्वन्धित सबैलाई अञ्चल प्रहरी कार्यालय जुम्लाले आग्रह गरेको छ। कर्णालीको डोल्पा र मुगु जिल्लाका लागि नेपालगञ्ज तालिम केन्द्रमा भर्ना छनौटका लागि व्यवस्था गरिएको छ ।

मुगु, कालिकोट र जुम्लामा ९१ महिला र ६ सय ५५ जना पुरुष परीक्षार्थीले प्रतिष्पर्धा गरिरहेका छन् । प्रारम्भिक चेकजाँचपछि स्वास्थ्य परिक्षण, लिखित मौखिक परिक्षाको कार्य तालिका सार्वजनिक गरिएको छ । तर कर्णालीमा कति कोटा हो भन्ने टुंगो प्रहरी प्रधान कार्यालयले लगाउने छ ।

Comments

comments