काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले ६ महिनाको अवधिमा सरकारले ऐतिहासिक र उल्लेखनीय काम गरेको दाबी गर्नुभएको छ । ६ महिनाको समीक्षामा सरकार सफल रहेको उहाँको कथन थियो ।

विराटनगर विमानस्थलमा आइतबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री राईले यसबीचमा देशभित्र र बाहिर संविधानका विषयमा फैलाइएका भ्रमलाई चिर्दै छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने आधार खडा गर्न सरकार सफल भएको बताउँनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा संविधानको स्वागत गरेको स्मरण गर्दै उहाँले चीन भ्रमणका बेलाभएको संविधानको स्वागत र ऐतिहासिक पारवहन सन्धि सरकारको महत्वपूर्ण उपलब्धी भएको दाबी गर्नुभयो ।

स्थानीय निकायमा निर्वाचन नभएकाले विकास निर्माण कार्यमा कठिनाइ भइरहेको उहाँको भनाइ थियो । उहाँले असार १५ गते बजेट घोषणाका साथै स्थानीय निकाय निर्वाचनको तिथिसमेत घोषणा हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री राईले यस पटक बजेटमा तराईलाई लक्षित विकासका योजना ल्याइने जानकारी पनि दिनुभयो ।

Comments