काठमाडौ । सरकारले वि स २०७३ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाउने भएको छ ।

बाह्य पर्यटक लक्षित कार्यक्रम मात्रै सञ्चालन भइरहेका बेला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को वर्ष आन्तरिक पर्यटक लक्षित कार्यक्रम गर्ने तयारी गरेको हो ।

नेपाल पर्यटन बोर्डको समन्वय र निजी क्षेत्रको सहभागितामा २०७३ साललाई आन्तरिक भ्रमण वर्ष मनाउने तयारी भएको मन्त्रालयले जनाएको हो ।

पर्यटन क्षेत्रको गतिविधि बढाउन २०७३ साललाई आन्तरिक भ्रमण वर्ष मनाउने गृहकार्य भएको मन्त्रालयको भनाई छ । यसबाट वैशाख १२ गतेको भूकम्प र भारतीय नाकावन्दीले शिथिल बनेको पर्यटन उद्योगले थप गति पाउँने अपेक्षा गरिएको छ ।

काठमाडौं बाहेकका पोखरा, चितवन, लुम्बिनी, बन्दिपुर, दोलखा, बर्दिया, इलाम, कोशि टप्पु लगायतका पर्यटकीय क्षेत्रलाई मुख्य लक्षित गरी कार्यक्रम गर्ने मन्त्रालयको तयारी छ । आन्तरिक पर्यटक बढाउन निश्चित ठाउँका लागि सेवा सुविधा तथा छुटको व्यवस्था गरिनेछ ।

यस्तै घुम्न प्रेरित गर्ने खालका प्रचारात्मक कार्यक्रम पनि गर्ने मन्त्रालयको तयारी छ । दसैं तिहारलगायत मुख्य बिदामा छुट्टी मनाउनका लागि विशेष प्याकेजसहितको अभियान थालिने मन्त्रालयले जनाएको छ ।

Comments