काठमाडौं । भूकम्प पछिको पुननिर्माणका लागि चालू आर्थिक वर्षमा ९१ अर्ब रुपैयाँ बजेट पाएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । आगामी आर्थिक वर्ष ०७३–०७४ का लागि भने प्राधिकरणले कम्तिमा १ खर्ब ५० अर्ब रुपैयाँ बजेट पाउने भएको छ ।

राष्ट्रिय योजना आयोगले प्राधिकरणलाई आगामी आर्थिक वर्ष डेढ खर्ब रुपैयाँ बराबरको सिलिङ तोकेको हो ।
तर, जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा जुटेको सरकारले मन्त्रालयगत तथा संस्थागत सिलिङबारे सुचना सार्वजानिकभने गरेको छैन । योजना आयोगले सबै मन्त्रालयहरुलाई सिलिङ तोकिसकेको भए पनि त्यसबारे आयोग र अर्थ मन्त्रालय सबैले सूचना लुकाउँदै आएका छन् ।

योजना आयोग स्रोतका अनुसार प्राधिकरणलाई १ खर्ब ५० अर्बको सिलिङ दिइएको तर प्राधिकरणले खर्च गर्नसक्ने पर्याप्त आधार देखाउन सकेको खण्डमा उसलाई सिलिङको सीमा लाग्ने छैन । तर प्राधिकरणको अहिलेसम्मको कार्यशैली र कार्य प्रगति हेर्दा उसले १ खर्ब ५० अर्ब रुपैयाँ नै खर्च गर्नसक्ने आधार नदेखिएको स्रोतले बतायो ।

आगामी आर्थिक वर्षका लागि योजना आयोगले अर्थ मन्त्रालयलाई ९ खर्ब ९ अर्ब रुपैयाँ बराबरको बजेट बनाउन सिलिङ दिएको छ ।

आयोगले दिएको सिलिङ अनुसार नै मन्त्रालयहरुसँग छलफल गरी कार्यक्रमहरु तयार भइरहेको अर्थ मन्त्रालयका सल्लाहकार डा. बिमल नेपालले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षमा जस्तै आगामी बजेटमा पनि पुनर्निर्माणमा सबैभन्दा बढी छुट्याइने भएको छ । चालू आर्थिक वर्षमा पुननिर्माणका लागि प्रत्यक्षरुपमा ७४ अर्ब रुपैयाँ र विभिन्न मन्त्रालयगतहरुमार्फत १७ अर्ब रुपैयाँ गरी ९१ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, सो बजेटमध्ये अत्यन्तै न्यून बजेट खर्च भएको छ ।

मन्त्रालयगतरुपमा पुननिर्माणका लागि भएको खर्चको विवरण प्राप्त भइनसकेको प्राधिकरणका प्रवक्ता रामशरण थपलियाले बताउँनुभयो ।

Comments

comments