काठमाडौं । प्रहरीप्रति सर्वसाधारण तथा नेतृत्वप्रति प्रहरी कर्मचारीको गुनासो सुन्न नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल चार दिनदेखि सुदूरपश्चिमका पहाडी जिल्लाको भ्रमणमा रहनुभएको छ । अर्यालले गत आइतबारदेखि दुर्गम जिल्ला बैतडी, डोटी, अछाम तथा डडेल्धुराको भ्रमण गर्नुभएको छ ।

दुर्गम जिल्लाको सुरक्षासँग जोडिएका समस्या बुझ्न आइजिपी अर्याल आफैँ स्थलगत निरीक्षण र भ्रमणमा गएको प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले बताउँनुभयो । ‘सुदूरपश्चिमका जिल्लामा आइजिपी नगएको धेरै वर्ष भइसकेको थियो,’ जोशीले भने, ‘त्यहाँका कतिपय प्रहरीले त आइजिपीलाई कहिल्यै प्रत्यक्ष नदेखेका पनि हुन सक्छन्, फिल्डमै गएर समस्या राम्रोसँग बुझ्न आइजिपीसाब दुर्गम जिल्लाको निरीक्षण भ्रमणमा जानुभएको हो ।’

कार्यस्थलमा नै पुगेर प्रहरीका समस्याको स्थलगत जानकारी तथा सम्बोधन गर्ने उद्देश्यका साथ २० चैतदेखि सुदूरपश्चिमाञ्चल क्षेत्र मातहतका प्रहरी इकाइको निरीक्षण भ्रमणमा रहेका अर्यालले बुधबार सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायलको निरीक्षण गर्नुभयो ।

Comments