काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले केहीदिनभित्रै एलपी. ग्याँसको अभाव सहज हुने दाबी गर्नुभएको छ । निगमले यसरी दाबी गरिरहँदा बजारमा देखिएको खाना पकाउँने ग्याँसको अभाव भने अझै हट्न सकेको छैन ।

निगमका कार्यकारी निर्देशक गोपालबहादु खड्काले नेपाल आयल निगमले ग्याँसको अभावलाई ध्यानमा राख्दै आपूर्ति सहज बनाउन ईण्डियन आयल कर्पोरेशनसँग ग्याँस आयातको मात्रा वृद्धि गर्नेवारेमा समेत छलफल भैरहेको बताउँनुभयो । हाल बजारमा देखिएको ग्याँस अभावको समस्या छिट्टै समाधान हुने उहाँको आश्वासन छ । निगमको आधिकारिक तथ्यांकमा ६२ लाख सिलिण्डर मात्र भएपनि हाल बजारमा ४ लाख बढि सिलिण्डर देखिएको कुरा सत्य भएको स्वीकार्दै उहाँले त्यसवारेमा निगमले सत्यतथ्य पत्ता लगाई कानुनी दायरामा ल्याउने प्रतिवद्दता जनाउँनुभयो ।

यस्तै काठमाडौं प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले हाल बजारमा ४ लाख अवैध ग्याँस सिलिण्डर भित्रिएको दाबी गर्नुभयो । गत मार्चको तुलनामा यस वर्षको मार्च महिनामा झण्डै ३० हजार मेट्रिक टन ग्याँस भित्रिँदा पनि उपभोक्ताहरु ग्याँसको अभाव झेल्न बाध्य भएको भन्दै उहाँले कालोबजारी नियन्त्रण गर्न राजधानीमा प्रभावकारी रुपमा अनुगमनका काम शुरु भएको जानकारी दिनुभयो ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुल धितालले पछिल्लो ५ महिनामा खाली भएको ६२ लाख सिलिण्डर नभरिएसम्म पूर्ण रुपमा ग्याँसको अभाव सहज नहुने बताउनुभयो ।

नेपाल एल.पी. ग्याँस उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले विगत ७ महिनाको अवधिमा १ लाख २७ हजार ७ सय ४४ मेट्रिक टन ग्याँस आयात भएपनि माग २ लाख ५ हजार ९ सय १२ भएकाले समस्या उत्पन्न भएको बताउनुभयो ।

साथै उहाँले खाली रहेका करिब ५५ लाख सिलिण्डर तत्काल भर्न सरकारले चासो नदेखाए आगामी एक वर्षसम्म ग्याँस अभावको समस्या हल नहुने तर्क गर्नुभयो ।

Comments

comments