इस्लामाबाद । पाकिस्तानी ट्वान्टी ट्वान्टी क्रिकेट टोलीको कप्तानमा सरफराज अहमद नियुक्त भएका छन् ।

पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) ले मंगलबार सरफराज अहमदलाई ट्वान्टी–२० टोलीको नयाँ कप्तानमा नियुक्त गरेको हो । भारतमा सम्पन्न विश्वकपको निराशाजनक प्रदर्शनपछि कप्तान सहिद अफ्रिदीले राजीनामा दिएपछि अहमदलाई नयाँ कप्तानको जिम्मेवारी दिइएको हो ।

पाकिस्तानले पहिलोपल्ट गरेको ट्वान्टी–२० घरेलु प्रतियोगिता पिएसएलमा क्वेटा ग्लाडिएटर्सलाई फाइनलसम्म पु¥याएका अहमद नयाँ कप्तानका लागि स्वाभाविक रोजाइ भएको पिसिबीको वेबसाइटमा उल्लेख छ ।

बंगलादेशमा अघिल्लो महिना सम्पन्न एसिया कपको लज्जाजनक प्रदर्शनले भारतमा पनि निरन्तरता पाएपछि अफ्रिदीको आलोचना भएको थियो । भारतमा सम्पन्न विश्वकपमा सोझै सुपर १० मा खेलेको पाकिस्तान त्यहींबाट बाहिरियो । लगातारको खराब प्रदर्शनपछि अफ्रिदीले आइतबार कप्तानी जिम्मेवारी त्यागेका थिए ।

पाकिस्तानका लागि २१ ट्वान्टी–२० अन्तराष्ट्रिय तथा त्यति नै टेस्ट र ५८ एकदिवसीय अन्तर्रा्ष्ट्रिय खेलेका दायाँहाते विकेटकिपर/ब्याट्सम्यान अहमदले टोलीमा रहेको जुझारुपन उजागर गर्न सक्दो प्रयास गर्ने बताए । २८ वर्षीय अहमदे अफ्रिदीजस्ता ठूला स्टार आफूले आफ्नो क्रिकेट करिअरमा नदेखेको प्रतिक्रिया दिए । पाकिस्तानी क्रिकेटलाई २० वर्षदेखि सेवा गरिरहेका अफ्रिदीबाट नयाँ पुस्ताले सिक्नुपर्ने धेरै रहेको उनले बताए ।

विश्वकपको सुपर १० मा एउटै जितमा सीमित २००९ को च्याम्पियन पाकिस्तानले बंगलादेशलाई मात्र हराउन सकेको थियो । बाँकी खेलमा चिरप्रतिद्वन्दी भारत, न्युजिल्यान्ड र अस्ट्रेलियासँग टोली ठूलो अन्तरमा पराजित भयो ।

Comments