काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि उम्मेदवारी दर्ता आज हुँदैछ ।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल आकंक्षी देखिएपछि चुनावी प्रक्रियामा जान लागेको हो । उम्मेदवारी दर्ताका लागि विहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्मको सयम निर्धारण गरिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार दिउँसो १२ः३० बजे दरखास्तउपर दाबी विरोध र १ः३० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।

दिउँसो १ः ३० देखि २ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । अपराहृन २ बजे दलको नेताका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । मतदान भने चैत २४ गते ११ देखि २ बजेसम्म हुने छ ।
कांग्रेसका तत्कालीन सभापति एवं दलका नेता सुशील कोइरालाको निधन भएपछि रिक्त रहेको दलको नेता चयनका लागि निर्वाचन हुन लागेको हो ।

संसदीय दलको कार्य समिति सदस्यका लागि भने शुक्रबार मतदान हुने भएको छ । कार्य समिति सदस्यका लागि बिहीबार ११ देखि १ बजेसम्म मनोनयन र अपराहृन ५ः ३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।

Comments

comments