काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक किचलो सतहमा आउँन थालेको छ । पार्टीभित्र गुटगत राजनीति हाबी भएको आरोप लागिरहेकै बेला शीर्ष नेताहरुले नै यसलाई पुष्टि गर्न थालेका छन् ।

पार्टीको नवौं महाधिवेशनमा खुलेर अध्यक्ष केपी शर्मा ओलीतर्फ लाग्नुभएका उपाध्यक्ष वामदेव गौतम समूह संस्थापन पक्षसँग असन्तुष्ट बन्नुभएको छ । त्यसैले झन्डै एक दर्जन केन्द्रीय सदस्य भएको गौतम समूह संस्थापनको साथ छाड्ने मनस्थितिमा पुगेको छ ।

अध्यक्ष ओलीसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष गौतम अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग असन्तुष्ट बनेको निकट स्रोतले बतायो।

पछिल्लो समय उपाध्यक्ष गौतम अध्यक्षको साथ छोडेर मध्यमार्गी जस्तै देखिनुभएको छ । गत साता बसेको स्थायी समिति बैठकमा समेत उहाँले संस्थापन पक्षलाई साथ दिनुभएन । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र संस्थापन पक्षबीच विभागमा राख्ने नामका विषयमा विवाद हुँदा उहाँले मध्यमार्गी बाटो अपनाउँदै सवैलाई समेटर लैजान सुझाव दिनुभएको थियो ।

नवौं महाधिवेशन अघिसम्म तत्कालीन अध्यक्ष झलनाथ खनालका पक्षमा रहेका गौतम त्यसयता भने अध्यक्ष ओली पक्षमा लागेका थिए।संसदीय दलको निर्वाचन हुँदा पनि गौतमले खुलेरै ओलीको समर्थन गर्नुभएको थियो ।

Comments

comments