काठमाडौं । नेपाल प्रहरीमा यसपटक अनौठो निर्णय गरिदैछ । जसअनुसार अवकाशको डेढ वर्षपछि नेपाल प्रहरीका चारजना डिआइजी एआइजीमा बढुवा हुने भएका छन् । गृह मन्त्रालयले बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ ।

सर्वोच्च अदालतको आदेशमा सरकारले अवकाश पाइसकेका डिआइजी यादव अधिकारी, सुशीलबरसिंह थापा, पर्शुराम खत्री र विश्वराज शाहीलाई एआइजीमा बढुवा गर्न लागेको हो ।

२९ असोज ०७१ देखि नै तलब पाउने गरी उनीहरूलाई विशेष दरबन्दी सिर्जना गरी बढुवा गरिन लागेको हो । करिब १० महिनाका लागि उनीहरू बढुवा हुनेछन् । ०७३ फागुनको पहिलो साता उनीहरूले ३० वर्षे सेवाहदका कारण हालका आइजिपी उपेन्द्रकान्त अर्यालसँगै अवकाश पाउनेछन् ।

स्रोतका अनुसार उनीहरूको यही साता बढुवा हुनेछ। तर, उनीहरूलाई कहाँ पदस्थापन गर्ने भन्ने विषयमा मन्त्रिपरिषद्मा र्पुयाइएको प्रस्तावमा केही उल्लेख छैन । अदालतको आदेश पालनाका क्रममा बढुवाको प्रस्ताव मन्त्रिपरिषद् लगिएको गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले बताए । बढुवा गरेपछि गृह मन्त्रालयले उनीहरूको पदस्थापन गर्नेछ ।

Comments

comments