काठमाडाैं । पूर्वसभामुख सुवास नेम्बाङले नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट भएको बताएका छन् ।

थारु पत्रकार सङ्घको पाँचौँ स्थापना दिवसका अवसरमा शनिवार काठमाडाैंमा आयोजित कार्यक्रममा उनले नेपालको संविधान विश्वमै उदाहरणीय बनेको बताउँदै संविधानसभाका सबै समिति समावेशी भएकाले समावेशी संविधानसभाले समावेशी संविधान बनाएको जिकिर गरेका हुन्।

उनले भने–’विश्वमा ९० प्रतिशत जनता सहभागी भएर आफ्ना लागि संविधान बनाएको इतिहास कुनै मुलुकमा छैन, त्यो हामीले गरेर देखाएका हौँ।’ नयाँ संविधानमा कसैको चित्त नबुझेको भए त्यसलाई शान्तिपूर्ण छलफल गरी टुङ्गोमा पुग्न सकिने भएकाले आन्दोलनरत समूहलाई छलफलमा आउन एमाले संसदीय दलका उपनेता नेम्बाङले आग्रह गरे।

लामो छलफल र समय लगाएर नेपालीले आफ्ना लागि आफैँ बनाएको संविधानले सबै जातजाति ,वर्ग, समुदाय, पिछडा वर्ग र लैङ्गिक समावेशिताले पूर्ण संविधान बनेकाले सबैको ध्यान यसको कार्यान्वयनमा हुनुपर्ने उनको भनाइ थियो। उनले भने,’संविधान राम्रो बनेको छ, चित्त नबुझेका कुरामा छलफल गरी संशोधन गर्न सकिन्छ त्यसैले अबको चुनौती भनेको कार्यान्वयन हो, यसका लागि सबैको सहयोग चाहिन्छ।’

सो अवसरमा सङ्घका पूर्वअध्यक्ष तथा पत्रकार लक्की चौधरीले लेखेको ‘थारु भाषाको हसौनी (चुट्किला)’ सङ्ग्रह पनि सभामुुख नेम्वाङले विमोचन गर्दै उनले विभिन्न जातजातिका वेशभूषाले नेपालको विश्वमै अलग पहिचान भएको उल्लेख गरे। रासस

Please follow and like us:

Comments