काठमाडौं । भारतमा जारी आइसीसी टी–२० विश्वकपको उपाधिका लागि वेष्ट इण्डिज र इङ्ल्याण्ड भिड्ने तय भएको छ ।

भारतलाई उसकै भूमिमा हराउँदै वेष्ट इण्डिज टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेपछि उपाधि भीडन्त तय भएको हो । न्यूजिल्याण्डलाई पराजित गर्दै इङ्ल्याण्ड यसअघि नै फाइनलमा पुगेको छ ।

मुम्बईमा बिहीबार राती भएको खेलमा टस जितेर वेस्ट इण्डिजले फिल्डिङ रोजेपछि भारतले ब्याटिङ गरेको थियोे । भारतले पुरै २० ओभरमा २ विकेट गुमाएर १९२ रन बनायो । भारतले दिएको १९३ रनको लक्ष्य वेष्ट इण्डिजले २ बल बाँकी रहँदै ३ विकेट गुमाएर भेट्टायो ।

भारतका लागि विराट कोहलीले ४७ बलमा ८९ रनको योगदान दिए भने रोहित शर्मा र अजिन्का रहानेले क्रमशः ४३ र ४० रन बनाएपनि जितका लागि त्यो पर्याप्त रहेन । भारत विरुद्ध जवाफी व्याटिङ गरेको वेष्ट इण्डिजले खराव सुरुवात गरेपनि पछि खेल लयमा फर्किएको थियो ।

वेष्ट इण्डिजका निकै आशा गरिएका क्रिस गेल मात्र ५ रन बनाएर आउट भए भने दोस्रो विकेट जाँदा टिमको स्कोर मात्र १९ रन थियो । तर जोनसन चाल्र्स र लेन्डल सिमोन्सले पारी सम्हाले । उनीहरुले तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गरे ।

चार्ल्स ५२ रनमा आउट भएपछि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका आन्द्र रसेलले पनि राम्रो पारी खेले । सिमोन्स ८३ रनमा अविजित रहे ।

८१ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का हाने । रसेलले २० बलमा ४ चौका र ४ छक्काको मद्दतमा अविजित ४३ रन बनाए ।

Comments

comments