भक्तपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्काल आन्दोलनको कार्यक्रम सार्वजनिक नगर्ने निर्णय गरेको छ । तराई आन्दोलनबाट जनता सन्तोष रहेको ठहर पनि मोर्चाले गरेको छ ।

बिहीबार भक्तपुरको सानोठिमी स्थित तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको बैठकले विगतका आन्दोलनको समिक्षा गर्दै तत्काल आन्दोलनको कार्यक्रम घोषणा नगर्ने भएको हो ।

मोर्चाको बैठक सकिएपछि बैठकबारे जानकारी दिँदै सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बिहीबारको बैठककाबारेमा जानकारी दिँदै आन्दोलनको कार्यक्रम तत्काल नल्याउने निर्णय भएको बताउँनुभयो । तर चैत्र मसान्तभित्र सरकारले मोर्चाको मागलाई सम्बोधन नगरे वैशाखमा आन्दोलनको कार्यक्रम ल्याउँने उहाँको भनाई थियो ।

उहाँले विगतमा भएको आन्दोलनको गम्भीर समीक्षा बैठकमा भएको जानकारी दिनुहुँदै जनताको भावना अनुसार नै आन्दोलन गरिएको र मोर्चाको आन्दोलनबाट जनता सन्तोष भएको ठहर गरिएको पनि बताउँनुभयो ।

सरकारले चैत्र अन्तिमसम्ममा माग पूरा नगरे वैशाखको पहिलो सातामा बस्ने मोर्चाको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने उहाँले बताउनुभयो ।

सरकार वार्ता गर्न चाहेमा मोर्चा वार्ता गर्न तयार रहेको कर्णको कथन थियो ।

Comments