मेलबर्न । एक लाख डलरको विद्यार्थी कल्याणकारी कोष बनाउने अभियानलाई आर्थिक रुपमा सहयोग गर्नका लागि अष्ट्रेलियाका विभिन्न शहरमा सुरु गरिएको वाक फर वेलफेयरको ब्रिसबेन संस्करण यो शनिबार हुँदैछ ।

नेपाली विद्यार्थीहरुको उत्कृष्ट गन्तव्य मानिएको अष्ट्रेलियामा एनआरएनको छातामा विद्यार्थीहरु नै नअटाएपछि उनीहरुको चासो र मागलाई सम्बोधन गर्नका निम्ति बनाउन लागिएको विद्यार्थी कल्याणकारी कोषले विद्यार्थीलाई आइपर्दा सहयोग गर्ने मात्र होइन उनीहरुको हितमा विभिन्न अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्ने एनआरएनका पदाधिकारीहरु बताउँछन् । यसैलाई बल दिनका लागि गर्न लागिएको यो पदयात्रा कार्यक्रममा सकेसम्म धेरैलाई सहभागी गराउने अभियानमा आफुहरु लागेको एनआरएन क्वीन्सल्याण्डका संयोजक अभिमानसिंह बस्नेतले बताउनुभयो ।

सहभागीहरुको दर्ता प्रक्रिया अहिले चलिरहेको छ । सहभागी हुन www.walkforwelfare.org.au मा गएर दर्ता गर्ने व्यवस्था मिलाइएको पनि उहाँले जानकारी दिनुभयो ।

वाक फर वेलफेयरको राष्ट्रिय संयोजन गरिरहनुभएका शमिम अनवरले सिड्नीमा भएको कार्यक्रमपछि अब ब्रिसबेनमा आफुहरु केन्द्रित बनेको जानकारी दिनुभयो । शनिबार विहान ७ बजे न्यू फार्म पार्कबाट सुरु हुने परोपकारी यात्राको पूर्वतयारीको काम भइरहेको छ । नेपाली समूदायबीचको एकता र एकलाई पर्दा अर्कोले सहयोग गर्ने हाम्रो संस्कार प्रदर्शनका लागि एनआरएन क्वीन्सल्याण्डका संयोजक बस्नेतले सबैलाई आह्वान गर्नुभएको छ ।

अभियानलाई रकेडेल काउन्सिलले समर्थन गरेको छ ।

Source : MNTV

Comments

comments