काठमाडौं । तपाईले ट्राफिक नियम उलंघन गर्नुभएको छ ? उलंघन गरेर पनि सत्य लुकाउदै हुनुहुन्छ ? कि ट्राफिक प्रहरीलाई गाली गर्नुभएको छ ? सचेत हुनुहोला, तपाईका ती सबै गल्तीहरु क्यामेरामा कैद भैरहेको हुनसक्छ ।

आफ्नै गल्ती भएर पनि तपाई ड्युटीमा रहेका ट्राफिकसँग विवाद गर्दै हुनुहुन्छ ? या सवारी नियम उलंघन गरेर अपशव्द प्रयोग गर्दै हुनुहुन्छ ? त्यसो हो भने सजग हुनुहोला । ड्युटीमा खटिएका ट्राफिक प्रहरीले ती सबै वास्तविकता श्रव्यदृश्य रुपमा कैद गरिरहेको हुनसक्छ । सवारी चालक र ट्राफिक स्वयंको व्यवहारलाई सभ्य बनाउदै नियम उलंघनलाई चुस्तदुरुस्त राख्न ट्राफिकले वडीवन क्यामेरा सेवा शुरु गरेको महानगरीय ट्राफिक प्रहरी प्रभाग प्रमूख सुनिलजंग शाहले बताउनुभयो ।

राजधानीलगायत शहरमा सवारी चापअनुरुप सडक विस्तार नहुदा सवारी चालकहरुले नियमको उलंघन गर्ने तर आवेशमा ट्राफिकलाई अपशब्द प्रयोग गर्ने, गल्ती ढाकछोप गर्न खोज्ने या ट्राफिक स्वयम्को व्यवहारप्रति सर्वसाधारणको गुनासो बढदै गएपछि सो सेवा शुरु गरिएको हो ।  बढी सवारी अवागमनको चाप र नियम बढी उलंघन हुने काठमाडौको वानेश्वर, न्युरोड, दरवारमार्ग, सिंहदरवार र थापाथली लगायतका पाँच स्थानहरुवाट ट्राफिकले वडीवन क्यामेराबाट निगरानी शुरु गरेको हो ।
ट्राफिक सेवालाई वैज्ञानिक र प्रभावकारी बनाउदै दुवै पक्षको गल्तीलाई दुरुस्त राख्न ट्राफिकले यो सेवा शुरु गरेको जनाएको छ ।

क्यामेराले पाँच मिटर दूरीसम्मको श्रव्यदृश्य कैद गर्न सक्छन् । चालकको गल्ती हुदाहुदै पनि धम्की दिने, अपशब्द प्रयोग गर्ने क्रम बढ्दै जाँदा त्यसको निराकरण र सेवाको विश्वसनीयताको लागि सेवा शुरु गरिएको ट्राफिक कार्यलयले जनाएको छ ।

Comments