काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुननिर्माण कछुवा गतिमा अघि बढेको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ । उहाँले पुनर्निर्माणमा व्यवधान गर्ने कर्मचारीलाई सरुवा गरिने चेतावनी समेत दिनुभएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सम्बन्धित मन्त्रालय, निकाय र एकाइबीचको समन्वयका लागि आयोजित पुनःनिर्माणसम्बन्धी गोष्ठीको मंगलबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कछुवा गतिले पुनर्निर्माण कहिले हुन्छ भन्दै प्रश्न समेत गर्नुभयो । एक महिनामा हुने काम १ वर्षमा पनि पुरा हुन नसकेको चर्चा गर्दै उहाँले पुनर्निर्माणको कार्य युद्धस्तरमा अगाडि बढाउन  सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभयो ।

प्रधानमन्त्री ओलीले पुनर्निर्माणको कामलाई कहिकतैबाट पनि अवरोध हुन नहुने समेत बताउनुभयो । अबदेखि कुनै पनि नाममा व्यवधान भएमा त्यस्ता कर्मचारीलाई सरुवा गरी काम गर्नेलाई खटाइने बताउदै उहाँले पुनःनिर्माणको सेवा गर्ने पवित्र काममा अतिरिक्त भत्तालाई सर्त बनाइएको भन्ने कुरा आफुले पत्याउन नसकेको समेत प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले अबदेखि कहाँ के कति पुनःनिर्माण भयो र कर्मचारी खटाइयो भन्नेबारे दैनिक विवरण राष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक हुनुपर्ने भन्दै यसमा युवा स्वयमसेवक पनि परिचालित गर्नुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा विभिन्न मन्त्रालयका सचिवले आपूm मातहतका पुनःनिर्माणका काम, त्यसका व्यवधान र आगामी कार्यक्रमबारे प्रस्तुति गर्ने र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जवाफ दिने कार्यक्रम छ ।

Comments

comments