काठमाडौं । इजिप्ट विमान अपहरणमा संलग्न व्यक्ति पक्राऊ परेसंगै विमान संकट सकिएको छ । प्रहरीले अपहरणमा संलग्न व्यक्ति र घटनाक्रमवारे अनुसन्धान भने जारी रहेको बताएको छ ।
इजिप्टको अलेक्ज्याण्ड्रियाबाट कायरोका लागि उडेको एअरबस ए ३२० लाई मंगलवार साइप्रसको लरनाका विमानस्थल पु¥याइएको थियो । इजिप्ट र साईप्रसका अधिकारीहरुको योजनावद्ध प्रयास पश्चात इजिप्ट एअर अपहरण संकट शान्तिपूर्ण किसिमले अन्त्य भएको हो ।

त्यस अघि बिस्फोटक पदार्थ सहितको आत्मघाती बेल्ट लगाएका भनिएका सेफ एल्दिन मुस्ताफा नामक व्यक्तिले विमान नियन्त्रणमा लिई साइप्रसको लरनाका विमानस्थल अवतरण गर्न पाईलटलाई वाध्य पारेका थिए । उनको आग्रह अनुसार चालक दलले विमान साइप्रसको विमान स्थलमा अवतरण गराएका थिए । विमानमा ८१ यात्रुहरु रहेकोमा सवै सकुशल मुक्त भएका छन् ।

शुरुमा इजिप्ट र टर्कीका अधिकारीहरुले आतंकावादी हमलाको आशंका गरेपनि अनुसन्धान पश्चात यो व्यक्तिगत सनकका कारण रचिएको अपहरणकाण्ड भएको पत्ता लागेको हो । त्यसपछि दुवै देशका अधिकारीहरुले अपहरणकर्ता व्यक्तिसंग वार्ता शुरु गरेका थिए । अनुसन्धानमा उक्त व्यक्ति एक पत्रसहित साईप्रसमा रहेको भनिएकी पूर्व पत्नीसंग भेट्न चाहेको खुलेको थियो । तर पनि यो कारण तथ्यसंगत भए नभएकोवारे अनुसन्धान भने जारी छ ।

इजिप्ट र साईप्रसका अधिकारीहरुले अपहरण काण्ड शान्तिपूर्णरुपमा अन्त्य हुनु सुखद भएको बताएका छन् । अपहरणकर्ता अहिले साईप्रस प्रहरीको नियन्त्रणमा छन् ।

Comments