काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा रहेका वेला उनको समूहले काठमाडौंमा छुट्टै भेला गरेपछि पार्टीभित्र नयाँ बहस सिर्जना भएको छ। मदन भण्डारी फाउन्डेसनको ब्यानरमा संस्थापनले ‘जनताको बहुदलीय जनवाद र समृद्धिको यात्रा’ शीर्षकमा अनमोल क्याटरिङमा शनिबार भेला गरेको थियो।

भेलामा सचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, स्थायी समिति सदस्य शंकर पोखरेल, पोलिटब्युरो सदस्य भानुभक्त ढकालसहित चार सय नेता–कार्यकर्ता सहभागी थिए। संस्थापनबाट निर्वाचित केन्द्रीय सदस्य, आयोगका सदस्यहरू, जिल्ला अध्यक्ष, प्रतिनिधित्व नभएका जिल्लाबाट उपाध्यक्ष र सचिव, विभिन्न जनसंगठनका प्रमुख तथा पदाधिकारी सहभागी थिए। भेलामा पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए।

भेलाका सहभागीले महाधिवेशन सकिएको २० महिनासम्म नयाँ संविधानअनुसार प्रादेशिक ढाँचामा संगठन निर्माण, केन्द्रीय विभागलाई पूर्णता, राष्ट्रिय परिषद् गठन, सल्लाहकार परिषद्लाई पूर्णता र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका थिए। केन्द्रीय कमिटीमा बहुमत हुँदाहुँदै नेतृत्व पार्टी चलाउन असफल भएको उनीहरूको निष्कर्ष थियो।

Comments