काठमाडौं । अप्रिल ८ तारिखमा अष्ट्रेलिया र नेपालबाट एकसाथ रिलिज हुन लागेको नेपाली चलचित्र ’नाईं नभन्नु ल ४’ अष्ट्रेलियाका सबै सहरमा रिलिज अगावै प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको छ ।

चलचित्रका निर्माता दिनेश पोखरेलले दिएको जानकारी अनुसार अष्ट्रेलियाका ८ वटा सहरमा चलचित्र प्रदर्शनको अधिकार बिक्री भइसकेको हो । सांगीतिक प्रेमकथामा आधारित यो चलचित्र विगतमा सफल बनेको चलचित्र नाईं नभन्नु ल को चौथो भाग हो । पोखरेलका अनुसार पहिलो पटक कुनै पनि नेपाली चलचित्रले प्रदर्शन पूर्व नै सबै सहरहरुमा प्रदर्शन अधिकार बिक्री गरेको यो नै पहिलो हो ।

विकास आचार्यले निर्देशन गरेको र दिनेश पोखरेल तथा हरिबोल भण्डारीद्वारा निर्माण गरिएको यस चलचित्रमा प्रियंका कार्की, पल शाह, बर्षा राउत, आंचल शर्मा र बालकलाकार अनुभव रेग्मीको अभिनय रहेको छ । चलचित्र अघिल्लो श्रृङ्खलाभन्दा अलग कथामा बनेको पोखरेलले दाबी गरेका छन् । चलचित्र अष्ट्रेलियाका, सिड्नी, मेलबर्न, एडिलेड, ब्रिसबन, पर्थ, तास्मानिया, क्यानबेरा र डार्विनमा प्रदर्शन हुन लागेको हो ।

चलचित्र सिड्नीमा एन्जल मुभिज, मेलबर्नमा स्मार्ट एक्सेस, एडिलेडमा झापाली समाज एडिलेड, ब्रिसबनमा स्वोट इन्भेष्टमेन्ट, पर्थमा हावा इन्टरटेन्मेन्ट, तास्मानियामा ड्रुक स्पोर्टिङ्ग युनाइटेड, क्यानबेरामा ए एण्ड एस इभेन्टस र डार्विनमा फस्ट स्टेप ग्लोबलले प्रदर्शनको अनुमति अधिकार खरिद गरेको पोखरेलले जानकारी दिए । राम्रो कथा र विषयबस्तुमा चलचित्र निर्माण गरियो भने विदेशमा प्रदर्शनको समस्या नआउने यो चलचित्रले प्रमाणित गरिदिएको उनले दाबी गरे ।

–कान्तिपुरबाट

Comments

comments