काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत आइतवार नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

बंगबन्धु गोल्ड कप र भारतमा हालै सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद साग फुटबलको उपाधि विजेता नेपाली फुटबल टोलीले आइतबार मलेसियाको यू २२ टोलीसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

मैत्री खेलका लागि तीन साता तयारी गरेर मलेसिया गएको नेपाली टोली जितेर फर्किेने टोलीका जापानी प्रशिक्षक ग्योतुकी कोजीले बताए । कोजीले नेपाली खेलाडी प्राविधिक रूपमा राम्रो रहेकाले मलेसियासँगको खेल उत्कृष्ट हुने दाबी गरे । मलेसियाको युवा टोलीसँग खेल्न लागेकाले टोलीमा युवा खेलाडीलाई प्राथमिकतामा राखिएको छ ।

नेपालसँग मैत्रीपूर्ण खेल खेल्नुअघि मलेसियाको यू २२ टोलीले फिलिपिन्सको यू २२ टोलीसँग बुधबार मैत्रीपूर्ण खेल खेलिसकेको छ । उक्त खेलमा मलेसियाले फिलिपिन्सलाई ४–१ गोलले पराजित गरेको थियो ।

मैत्री खेलका लागि टोलीका नियमित खेलाडी अनिल गुरुङलाई यसपटक टोलीमा राखिएको छैन । टोलीका तीन गोलरक्षक विकेश कुथु, विशाल श्रेष्ठ र किरनकुमार लिम्बू छन् । सागमा गोलरक्षक विकेश कुथुको उत्कृष्ट प्रदर्शनमा नेपालले स्वर्ण जितेको थियो।

यसैगरी टोलीको रक्षकमा विजय धिमाल, विराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मानबहादुर तामाङ, रविन श्रेष्ठ र रञ्जित धिमाल छन् । मिडफिल्डरमा विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ र सुनील बल छन् । स्ट्राइकरमा भरत खवास, विश्वास श्रेष्ठ, नवयुग श्रेष्ठ, रञ्जन विष्ट र सुमन लामा रहेका छन् ।

Comments

comments