मेलबर्न । नेप्ले इभेन्टसको आयोजनामा विगत एक महिनादेखि अष्ट्रेलियाका विभिन्न शहरमा आयोजना हुँदै आएको वृहत सांगीतिक टुर बजाउँछ अष्ट्रेलियाको अन्तिम कार्यक्रम आज मेलबर्नमा हुँदैछ ।

यो म्युजिकल टुरमा द एज व्याण्ड र र्यापर यमबुद्धको प्रस्तुति विशेष आकर्षणको रुपमा रहँदै आएको छ ।

आज मार्च २७ आइतवारका दिन मेलबर्नमा भव्य सांगीतिक कार्यक्रमको आयोजना गरी यो टुरको समापन गरिन लागेको हो । मेलबर्नमा हुने कार्यक्रमको व्यवस्थापन भने मूल आयोजक नेप्ले इभेन्ट्सले नै सम्हालेको छ । मेलबर्नमा आज हुने कार्यक्रममा पनि द एज व्याण्डको साथै चर्चित र्यापर गायक यमबुद्धले आफ्नो रकिङ प्रस्तुति दिनेछन् । कार्यक्रम ट्र्याक लाउञ्ज वारमा हुँदैछ ।

मेगा इभेन्टका रुपमा आयोजना भएको यो कार्यक्रममा उल्लेख्य दर्शकहरुको सहभागीता रहँदै आएको छ । आज मेलबर्नमा हुने कार्यक्रममा अझ धेरै दर्शकहरुको साथ प्राप्त हुने आयोजकको अपेक्षा छ ।

यो कार्यक्रमबाट उठेको रकम काठमाडौंमा रहेको मातृभूमि महिला समाजलाई च्यारिटीस्वरुप प्रदान गरिनेछ । उक्त समाजले हाल २० भन्दा बढी अनाथ बाल बालिकाहरुको पालनपोषण गरिरहेको छ ।

नेप्ले इभेन्टस् विगत लामो समयदेखि अष्ट्रेलियामा रहेका नेपाली समुदायमा क्रियाशील रहँदै आएको छ ।

Comments