काठमाडौं । नेपाल भ्रमणको कार्यक्रमलाई थप ६ दिन लम्ब्याएका बेलायतका राजुकमार ह्यारी विहीवार अचानक बेखबर र बेपत्ता जस्तै बनेपछि सरकारी अधिकारीहरुले हैरानी खेप्नुपर्यो ।

गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयलाई दिनभर मोबाइल फोन उठाउँनुको चटारो पर्यो । बेलायती राजकुमारको अवस्थाका बारेमा सोध्नेहरुको फोनले हुनसम्मको हैरानी दियो । यसरी जिल्लाका उच्च सुरक्षा अधिकारीहरुलाई प्रश्न गर्नेमा पत्रकार तथा काठमाडौंमा रहेका उच्च प्रशासक र प्रहरीका अधिकारीहरु थिए ।

राजकुमार ह्यारी गोरखा गएको खबर आएपछि उच्च सुरक्षा अधिकारीहरुलाई फोन गर्नेको ओइरो लागेको हो । नेपालको औपचारिक भ्रमण सकेर पनि थप ६ दिन यतै बस्ने र भूकम्प प्रभावित जिल्लाको एउटा विद्यालयको पुनर्निर्माणमा खट्ने राजकुमारले बताएका थिए । तर उनले कुन जिल्लाको कुन विद्यालयको पुनर्निर्माण गर्दै छन् भन्ने विषयलाई भने निकै गोप्य राखिएको छ । वैशाख १२ को भूकम्पको केन्द्रबिन्दू रहेको ठाउँ पनि भएकाले ह्यारी गोरखामै छन् भन्ने धेरैको अनुमान छ । उच्च सुरक्षा स्रोतका अनुसार ‘ह्यारी मोटरबाटो हुँदै गोरखा गएका छन् ।’ गोरखाका प्रहरी प्रमुख एसपी पाण्डेयलाई पनि त्यस्तै जानकारी आएको रहेछ । ‘पहिले रसुवा जाने कार्यक्रम थियो तर पछि परिवर्तन गरेर गोरखा आएको जानकारी आफूले पाएको उनले बताए ।

राजकुमार ह्यारी भूकम्पको केन्द्रबिन्दू बारपाक गएको अनुमान गरेर त्यहाँ सम्पर्क गर्दा उनी त्यहाँ नपुगेको पत्ता लागेको सुरक्षा स्रोतले बतायो । यस्तै पृथ्वी राजमार्गसँग जोडिएको गोरखाको घ्याल्चोक गाविस पुगेको हल्लाका आधारमा विहीवार त्यहाँ पनि खोजी गरिएको तर यो पनि हल्ला मात्रै भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

यसरी अचानक वेखबर र वेपत्ता बनेर राजकुमार ह्यारी आखिर कहाँ गए र के गर्दैछन् त ?

Comments

comments