गिरिजाप्रसाद प्रसाद कोइरालालाई चिन्ने जो कोहिले उनकी की पुत्री सुजाता कोइरालाको नाम सुनेकै होलान् | कारण उनि आफ्नो पिताको जीवनकालमा निरन्तर चर्चामा रहिन् | तर धेरैलाई थाहा नभएको पूर्व प्रधानमन्त्री  गिरिजाप्रसाद कोइरालाका अर्का सन्तान पुत्र सुरेश कोइराला पनि हुन् | कहिलै चर्चामा नआएका गुमनाम सुरेश कोइरालाले शनिबार अन्तिम स्वाश ग्रहण गरे | भौतिक रुपमा सुरेश अब रहेनन् |

गिरिजाप्रसाद आफैले नचिनेका छोरा

२००४ साल चैत्र २२ मा जन्मिएका सुरेश कोइरालालाई स्वयम् गिरिजाप्रसादले समेतले चिनेका थिएनन् | उनि जन्मिदा गिरिजाप्रसादले श्रीमती सुस्मा सँग चिनजान सम्म गरेका थिएनन् | किनकि सुष्मा  दुलही बनेर कोइरालानिवास भित्रिँदा छोरा बनेर सुरेश पनि भित्रिएका हुन । त्यसपछि सुरेशको लालनपालनको सम्पूर्ण जिम्मा लिएका थिए गिरिजाप्रसादले ।

सुष्माको गिरिजाप्रसाद सँग दोश्रो बिहे

बनारसनिवासी स्टदेव उपाध्यायकी छोरी सुष्माको पहिलो बिहे भारतमै भएको थियो । तर सुरेश जन्मिएको केही समयपछि सुष्मा र उनको श्रीमानबिच सम्बन्धविच्छेद भयो । यता केशव कोइरालाकी श्रीमती नोनाको पनि माइती बनारसमै हो । नोनाकै सहयोगमा सुष्मा विराटनगर आइन् र स्थानीय आदर्श बालिका विद्यालयमा पढाउन थालिन । सो विद्यालय नोना, बिपीपत्नी सुशीला र शैलजाकी आमा इन्दिरा मिलेर खोलेका थिए । त्यही विद्यालयमा गिरिजाप्रसाद र सुष्माको भेट भएको हो । सुष्मा यति सुन्दरी थिइन कि गिरिजाप्रसाद पग्लिए । उनले बच्चाकी आमासमेत भनेनन, प्रेमप्रस्ताव राखे । छोरा सुरेशलाई समेत स्विकार्ने सर्तमा गिरिजाप्रसाद र सुष्माको बिहे भयो । गिरिजाकी आमा दिव्यालाई बच्चासहितकी बुहारी भित्रिन लागेको मन परेको थिएन । बिपीले पनि तत्काल बिहे नगरेर आमचुनावको तयारीमा लाग्न भाइलाई निर्देशन दिएका थिए । तर प्रेममा पग्लिएका गिरिजा रोकिएनन, उनले कोलकाता पुगेर बिहे गरे । उहाँहरू बिहे गर्न नै कोलकाता जानुभयो, केशव र नोनाले दुवैलाई  साथ दिए | आमासँगै आएका सुरेशलाई गिरिजाबाबुले आफ्नै छोरा मान्नुभयो, अभिभावकत्व दिए ।

सुजाताको जन्म सुष्माको निधन सुरेशलाई नागरिकता 

२००९ सालमा बिहे गरेको गिरिजादम्पतीबाट ०११ सालमा सुजाता जन्मिइन । घरमा नयाँ सन्तान आएपछि पनि सुरेशको महत्त्व कम भएन । कतिसम्म भने गिरिजाप्रसादले आफ्नी छोरीको नाम पनि सुरेशसँगै मिल्नेगरी राखिदिए- सुजाता । ०२२ सालमा आफ्नै घरको फ्रिजमा लागेको आगोले जलेर सुष्माको निधन भयो । सुष्मासँग १३ वर्ष मात्र बिताएका गिरिजाप्रसादले अर्को बिहे पनि गरेनन् र सुरेशलाई हेला पनि गरेनन । सुष्माको निधन भएको २२ वर्षपछि गिरिजाप्रसादले आफ्नै छोराको रूपमा सुरेशको नागरिकता बनाइदिए । सुरेशले २२ पुस ०४३ मा मोरङ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए  । वंशजको आधारमा जारी उनको नागरिकतामा बुबाको नाम छ- गिरिजाप्रसाद कोइराला ।

सुरेशको शिक्षादिक्षा अनि बिबाह 

कोइरालानिवासमा हुर्केका सुरेशलाई कोइरालानिवासमा भेदभावको अनुभव भएन । उनले अरूले जत्तिकै सुविधासाथ पढ्ने अवसर पनि पाए । बिपी, केशव र तारिणीप्रसाद कोइरालाका छोराहरूसँगै सुरेशले पनि पहिले दार्जिलिङ र पछि बनारसमा पढे । हामी सँगै खेल्यौँ, सँगै खायौँ र पढ्यौँ, तारिणीपुत्र ज्योति भन्छन् , अन्य कुरा त हामीलाई महसुस नै भएन । बनारसबाट बिएस्सी सकेपछि सुरेश विराटनगर फर्के । ०२८ सालमा विराटनगरको अस्पतालचोककी भानु थापासँग उनको मागीबिहे भयो । केटी माग्ने काम पनि गिरिजाप्रसादकै पहलमा भएको थियो । बिहेअघि जिल्लास्तरीय राजनीतिमा सक्रिय सुरेश बिहेपछि राजनीतिबाट टाढा भए । विज्ञानमा स्नातक पढेका सुरेश विराटनगरमा खेती-किसानीमा लागे । पञ्चायतकालमा कोइराला परिवारका सदस्यहरूका लागि सरकारी जागिर निषेध थियो । तर, विराटनगरमा कोइराला परिवारको प्रशस्त जग्गा थियो । त्यही जग्गामा उनले २८ सालदेखि दुई दशकसम्म कृषिको काम गरे ।

सुरेशको काठमाडौँ आगमन र धमिजा काण्ड 

 ०४८ सालमा पिता गिरिजाप्रसाद प्रधानमन्त्री भएपछि सुरेश पनि काठमाडौं आए । उनले जागिर पाए शाही (तत्कालीन) नेपाल वायुसेवा निगममा । पिता प्रधानमन्त्री भएको वेला छोरी सुजाताले शानेवानिका जहाज बिक्रीकाण्ड र धमिजाकाण्ड मच्चाएको आरोप छ । त्यहीवेला छोरा सुरेश भने निगममा बजार प्रबन्धकको रूपमा लो प्रोफाइलको जागिर खाइरहेका थिए । चार वर्षसम्म निगममा काम गरेपछि उनी लागे प्रेस चलाउन ।

कति छ सुरेशको पुर्खेयौली सम्पति

सुरेशको नाममा विराटनगरमा १५ बिघा जग्गा छ । यो जग्गा पनि पिता गिरिजाप्रसादले दिएका हुन । उनले आफ्नो पुर्खेयौली सम्पति उतै छाडेर  राजधानीको बौद्ध टुसाल बसेका थिए |उनको आफ्नै प्रेस संचालनमा थियो | प्रेसको आम्दानीले नै उनको खर्च चल्ने गरेको पारिवारिक श्रोत बताउँछ ।

कोइराला परिवार आफै शक्ति केन्द्र तर सुरेश गुमनाम

अहिले पनि कोइराला परिवारभित्रै अनेक शक्तिकेन्द्र छन । तर लो प्रोफाइलका सुरेश कुनै पनि केन्द्रमा देखिएनन्  । त्यसैले होला उनि बाँचुन्जेल सबैको  मायामा रहे  । त्यसमा पनि गिरिजाप्रसादले त झन धेरै माया गर्थे । गिरिजाप्रसाद जीवित छँदा उनीहरु बिचको सम्बन्ध निकै घनिष्ठ रही रह्यो |  । सुरेश बाबुलाई भेट्न हप्तैपिच्छे जस्तो जाने गर्थे  ।

सुजाता र सुरेशको सम्बन्ध

सुजाताले पनि दाइलाई राम्रै व्यवहार गर्थिन्  । सुजाता कोइराला  मन्त्री भएपछि बधाई दिन सुरेश्का परिवार पुगेका थिए |सुजाता पनि दाजु भाउजु भेट्न बारम्बार आउने जाने गर्छिन् |

सुरेशको परिवारमा को को छन् त ?

सुरेशका दुई छोरा छन, जेठा परितोष बिपीपुत्र डा. शशांकको घरमा बस्दै आएका छन । कान्छा अभिषेक मुम्बईमा कलसेन्टरमा काम गर्छन । 

यी सबैथोक भएरै पनि सार्वजनिक रुपमा गिरिजा पुत्र सुरेश नेपाल र नेपाली माझ प्रष्ट देखिन चाहेनन् | उनले आफ्नो लो प्रोफाइल लाई बाबुको  शक्तिको दुरुपयोग गरेर अघि बढेनन् |

तर जीवनको लगभग अन्तिम समयमा उनको सक्रियता नकारात्मक देखियो पछिल्लो समय बिराटनगर स्थित कोइराला परिवारको जग्गमा २००७ साल देखि  बसेका कामतिया (मोही) ७० परिवारलाई  लखेट्न गुण्डा प्रयोग गरि धम्क्याउन सुरेश कोइरला समेत सक्रिय रहेको स्थानीयले  जिल्ला प्रशासन कार्यालयम उजुरी समेत गरेका थिए | आफ्नो जग्गा मुल्यवान हुदै गए पछि कोइराला परिवारले हडप्न बल पर्योग गरेको उनीहरुको भनाइ थियो |

विराटनगर–७ मा कोइराला परिवारको ८० बिघाजति जग्गा थियो जो पछि प्रकाश, गिरिजा, सशांक र केशव कोइरालाको नाममा अंश लागेको थियो । गिरिजाप्रसादको भागमा परेको जग्गा  सुरेशले पाएका थिए , जसको चार बिघामा कामतियाको गाउँ छ । कोइराला परिवारका सदस्य सुशील प्रधानमन्त्री बन्नासाथ सुरेशको निर्देशनमा करिब सय तलबारसहितका गुन्डा दुईवटा डोजर लिएर आएको स्थानीयले प्रहरीमा उजुरी गरे | गुन्डा र स्थानीय बासिन्दाको झडपपछि मात्र घटनास्थलमा पुगेको प्रहरीले गुन्डा समात्न त सकेन , बरु प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि लाठीचार्ज गरेर आठजना स्थानीयलाई घाइते बनायो । प्रहरीको कुटाइबाट रामवतार चौधरी, सजीवन चौधरी, महेन्द्र कामत, शिवशंकर कामत, विश्व साफीलगायत घाइते भए ।
मोही हक कायम गरेर बस्दै आएका ब्रह्मपुराबासीलाई उठाउन ०६३ मा पनि त्यस्तै प्रयास भएको स्थानीय बताउँछन् , त्यसवेला प्रहरीले घरघरमा पसेर स्थानीयलाई कुटपिट गर्दा २५ जना स्थानीय घाइते भएका थिए । तर, प्रहरी पनि घाइते भएपछि प्रशासन पछि हटेको थियो । ( सन्दर्भ सामग्री : नयाँ पत्रिका)

Comments