काठमाडौं । प्रधानमन्त्री केपी ओलीको भ्रमणका क्रममा छिमेकी चीन सरकारले नेपाललाई उपलब्ध गराउने ३२ हजार थान सौर्य बत्ती भूकम्पबाट अति प्रभावित जिल्लामा निःशुल्क वितरण गरिने भएको छ । प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीको उपस्थितिमा सौर्य प्रणाली उपलब्ध गराउने सम्बन्धी द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको हो ।

गत वैशाखमा गएको भूकम्पका कारण घरबार भत्किएका १४ जिल्लाका भूकम्पपीडितलाई उक्त सौर्य बत्ती निःशुल्क रुपमा प्रदान गरिनेछ । भूकम्प गएलगत्तै आएको चिनियाँ प्रतिनिधिमण्डलले प्रभावित क्षेत्रमा मानवीय सहयोग गर्ने लक्ष्यका साथ सौर्य प्रणाली उपलब्ध गराउने र उज्यालो वितरण गर्ने वचन दिएअनुसार नै ३२ हजार थान घरायसी सौर्य प्रणाली उपलब्ध गराउन लागिएको हो । भूकम्पका कारण घरबारविहीन भएका जनतालाई उपलब्ध गराउने लक्ष्यका साथ चिनियाँ पक्षले राखेको चासो र सहयोगलाई व्यवस्थापन र अनुगमन गर्ने काम गर्ने जनसङ्ख्या तथा वातावरण मन्त्रालय र उक्त मन्त्रालय मातहतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र गर्नेछ ।

यस्तै चीनले ३२५ थान ठूलो खालको सौर्य प्रणाली पनि उपलब्ध गराउने भएको छ । कुल ३२ हजार थान सौर्य प्रणाली भने कुल १० वाटको हुनेछ । त्यसमा सँगै तीन थान बल्ब पनि प्राप्त हुनेछ । कुल ९६ हजार बल्ब सहयोगमा नै प्राप्त हुनेछ भने ३ सय २५ थान ठूलो सौर्य प्रणाली भने एक हजार २ सय वाटको हुनेछ । विद्यालय, सामुदायिक संस्था, अस्पतालमा ठूलो प्रणाली जडान गरिनेछ । ठूला प्रणाली विद्यालय, अस्पताललाई कसरी वितरण गर्ने भन्ने विषयमा नीतिगत व्यवस्था गर्न आवश्यक निर्णय हुन बाँकी रहेको छ ।

इकोसिस्टम बेस्ड एडप्टेस्न अन्तर्गत ग्लोबल इन्भारमेन्ट फन्डले गरिरहेको कामलाई सार्थक बनाउने लक्ष्यका साथ चीन सरकारको तर्फबाट ती प्रणाली प्राप्त हुन लागेका हुन् । परियोजनाको चीन सहलगानीकर्ता हो । यसअघि उक्त परियोजनाले नेपालको लमजुङमा सौर्य प्रणाली जडान गर्ने कार्य गर्दै आएको थियो । सौर्य प्रणाली जडान गर्न आवश्यक जनशक्तिलाई तालिम दिने तथा प्रविधि हस्तान्तरणमा समेत चीन सरकारले नै सहयोग गर्ने छ । त्यसमा चिनियाँ पक्षले उपलब्ध गराउने तालिम र प्राविधिक सहयोगका लागि आवश्यक व्यवस्थापन र अनुगमन गर्ने काम भने जनसङ्ख्या तथा वातावरण मन्त्रालयले गर्नेछ ।

चिनियाँ पक्षले ३० करोड रुपैया बराबरको सहयोग गरेको छ । चीनले उपलब्ध गराएको सौर्य प्रणालीको गुणस्तरमा कुनै समस्या नहुने र त्यसको आवश्यक जाँच पड्तालसमेत गरिनेछ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सौर्य ऊर्जा शाखाका प्रमुख महेश घिमिरेले आफूहरुले गरेकै प्रस्तावअनुसार चिनियाँ पक्षले सौर्य प्रणाली उपलब्ध गराएको जानकारी दिनुभयो ।

Comments

comments