मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा सांगीतिक जात्रा सम्पन्न भएको छ । होली पर्वको अवसरमा आइतवार भव्य रुपमा सांगीतिक पर्व मनाइएको हो ।

एस ईभेन्ट्स एण्ड मल्टिमिडिया र सोलाङ्चरको संयुक्त आयोजनामा सम्पन्न भएको सांगीतिक जात्राको यो तेश्रो संस्करण हो । मेलबर्नको ब्रन्सविकस्थित गिल्पीन पार्कमा आयोजना गरिएको सांगीतिक जात्रामा गीतसंगीतको मनोरञ्जनका साथै होली पर्वमा रंगको रमाइलो र विभिन्न खानाका परिकारहरुसहितको स्टलको व्यवस्था गरिएको थियो । ती स्टलहरुले आगन्तुकहरुलाई आकर्षित गरेको थियो । मध्यान्ह १२ बजेबाट सुरु भएको कार्यक्रममा विभिन्न नेपाली व्याण्डहरुले सांगीतिक प्रस्तुति दिएका थिए । परम्परागत लाखे नाच कार्यक्रमको प्रमुख आकर्षण रहेको थियो ।

नेपाली गीत र संगीतमा झुम्दै होली मनाउन करिब एक हजारभन्दा बढी नेपालीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई आकर्षक बनाउन कन्सर्टसँगै खानाका विभिन्न स्टलहरु, डिजे सेसन, मम खाने प्रतियोगिता राखिएको थियो भने बालबालिकाहरुको निम्ति छुट्टै खेलहरु पनि आयोजित थियो ।

कार्यक्रममा सहभागी युवाहरुको उत्साहलाई हौसला प्रदान गर्न भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष सुधिर शाक्यसहित समाजका अगुवा बम योञ्जनपनि कार्यक्रमस्थलमा पूगनुभएको थियो । कन्सर्टमा मोक्ष व्याण्डले आफ्ना विभिन्न प्रस्तुति प्रस्तुत गरेको थियो ।

Comments

comments