काठमाडौं। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बेईजिङमा महत्वपूर्ण भेटवार्ता गर्दै हुनुहुन्छ । उहाँले चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री लि खछ्याङसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ ।

भेटवार्तापछि केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । प्रधानमन्त्री ओली चीनको ‘ग्रेट हल अफ द पिपल’मा आयोजना हुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । त्यहीँ उहाँले आफ्ना समकक्षी लीसँग पारस्परिक हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ प्रधानमन्त्री लीले प्रधानमन्त्री ओली र उहाँ नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नुहुनेछ । प्रधानमन्त्रीले ‘चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स’का अध्यक्ष यु झेङसेङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले रेनमिन विश्वविद्यालयमा विद्वत्वर्ग, प्राज्ञ र व्यापारी वर्गको उपस्थितिमा आयोजना हुने ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ विषयको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उहाँको उपस्थितिमा साङ्घाइ सहयोग सङ्गठन (एससिओ) को संवाद साझेदारी प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । साथै उहाँले चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषदमा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई सम्बोधन गर्नुहुनेछ । एक हप्ता लामो औपचारिक भ्रमणको लागि प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार चीन पुग्नुभएको हो ।

Comments

comments