काठमाडौँ । नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने लकर सेवाको पनि नियमन गर्ने भएको छ।

यसअघि खातावालको विवरण अध्यावधिक गर्ने गरे पनि लकरबारे भने नियमन गर्ने गरेको थिएन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आइतबार एमाओवादी सांसद ल्यारक्याल लामाको सम्पत्ति छानबिन गर्ने क्रममा नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा पेस्तोलको गोली फेला पारेको थियो।

यस घटना पछि राष्ट्र बैंकले लकरमा के राख्न पाउने र नपाउने भन्ने बिषयमा चासो देखाएको हो।

बैंक लकरमा ग्राहकले के र कस्ता वस्तु राख्न पाउने भन्ने प्रस्ट कानुनी व्यवस्था नहुँदा ग्राहकले सो सुविधाको दुरुपयोग गरी गैरकानुनी वस्तु र हातहतियारसमेत राख्ने गरेको भेटिएपछि कानुनी व्यवस्था गरेर नियमन गर्न लागिएको राष्ट्र बैंककका अधिकारीले बताए।

बोक्न, ओसारपसार गर्न र प्रयोग गर्न कानुनले बर्जित गरेका बस्तुहरु लकरमा पनि राख्न नपाइने भएकाले त्योसम्बन्धी प्रस्ट कानुनी व्यवस्था गर्न लागिएको राष्ट्रबैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए ।

‘कुनै बस्तु बोक्न, ओसारपसार गर्न र प्रयोग गर्न कानुनले नै वर्जित गरेको छ भने त्यस्ता बस्तु बैंक लकरमा पनि राख्न मिल्दैन, तर यस विषयमा राष्ट्र बैंकले प्रष्ट्र नबोलेकाले निर्देशिका नै जारी गरेर नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता देखियो हामी यसको गृहकार्यमा छौ,’पंगेनीले भने।

Comments