काठमाडौँ । प्रधानमन्त्री केपी ओली राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको सट्टा उडान नै सुरु नगरेको निजी कम्पनीको विमान चार्टर गरी आइतबार चीन भ्रमणमा जाने भएका छन्।

नेपाल वायु सेवा निगमका उच्च अधिकारी र कर्मचारीहरुले प्रधानमन्त्रीको भ्रमणमा राष्ट्रिय ध्वजावाहकलाई बेवास्ता गरी निजी कम्पनीको विमानलाई चार्टर गरी लाने निर्णय गरिएकोमा शुक्रवार सरकारसमक्ष विरोध जनाएका छन्। कान्तिपुर दैनिकमा समाचार छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाई ‘भीभीआईपी’ (ओली) को चीन भ्रमणका लागि निजी क्षेत्रको वायुसेवा ‘हिमालय एयरलाइन्स’ को विमान चार्टरमा लिने व्यवस्था गर्न निर्देशन दिएको छ। हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि ५८ सिट क्षमताको एयरबस ए ३२० जहाज खरिद गरेको छ । यो जहाजले अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान गरेको छैन। हिमालय एयरलाइन्सले आगामी चैत ३० देखिमात्रै व्यापारिक उडान सुरु गर्दैछ।

व्यापारिक उडान सुरु नगर्दै हिमालय एयरलाइन्सले चैत ७ मा नै प्रधानमन्त्रीसहितको भ्रमण टोलीलाई लिएर बेइजिङ जाने निश्चित भएको छ। प्रधानमन्त्री कार्यालयले पर्यटन मन्त्रालयलाई पत्र लेखेर प्रधानमन्त्रीको चीन भ्रमण हिमालय एयरलाइन्सको विशेष विमानबाट हुने भएकाले भीभीआईपीको उडानका लागि हुनुपर्ने आवश्यक सवै व्यवस्था मिलाउन पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयको पत्रमा ओली चैत ७ गते विहान ११ बजे हिमालय एयरलाइन्सको विमानबाट बेइजिङ जाने र चैत्र १४ मा छेन्दुबाट काठमाडौं र्फकने कार्यक्रम रहेको उल्लेख छ ।

Comments

comments