–मनोज पौड्याल ।

तिमी आमाले दस चोटी घच्घचाएपछि उठ्छौ
यता म मोबाईलमा घण्टी बजेपछि उठ्छु
अनि फेरि स्नुजमा राखेर पाँच मिनेट भएनि सुत्छु
फरक यत्ति हो तिमी बाउ आमा माथि बुई चढ्छौ
यता म आफ्नो मिहिनेतको बिउ रोप्छु ।

तिम्रो ओच्छ्यानमा खाजा र चिया आइपुग्छ
यता म निद्रादेवीसँग झुल्दै मुख धुन्छु
दुई पिस पाउरोटी चपाउदै ट्रेन स्टेशन दगुर्छु
फरक यत्ति हो,तिमीलाई न कुनै डर छ न त कुनै कर
यता मलाई साहुले कामबाट निकाल्लान् कि भन्ने डर छ ।

तिमी पैसा मागेर बाईकमा पेट्रोल हाल्छौ
यता म दुख गरेर कलेजको फि जुटाउँछु
अनि सकि नसकि बा आमालाई पनि खर्च पुर्याउँछु
फरक यत्ति हो तिमीलाई बाईकमा केटी घुमाउने रहर छ
यता मलाई जिन्दगी कसरी बनाउने कर जागेको छ ।

तिमी कुलतमा फस्ने बाटाहरु पछ्याउँदै छौ
यता म सुन्दर भबिष्यको घरमा ईटा हाल्दैछु
भोलिको लागि आधारको जग बसाउँदैछु
फरक यत्ति हो तिमी पैतृक सम्पत्तिमा मात्तिएको मान्छे
म आफ्नो पसिना र श्रमको कमाईमा रमाउने मान्छे ।

तिमी लागू औषध र दुव्र्यसनमा फस्न चाहन्छौ
यता म त्यही शीर्षकमा लेक्चर दिन्छु
अनि उदाहरणमा तिम्रै नाम लिन्छु
फरक यत्ति हो तिमीले बास्तविक जिन्दगीको अर्थ बुझ्न सकेनौ
मैले त्यतातिर गहिरिएर सोच्ने फुर्सद पाइँन ।

तिमी साँझ परेपछि हरेक दिन मात्तिन्छौ
यता म घर परिवार सम्झेर आत्तिन्छु
लप्रक्कै पसिनामा भिजेर आधा रातमा घर फर्किन्छु
फरक यत्ति हो तिमीलाई नशामा मस्त हुने मात लागेको छ
यता मलाई काममा रमाउने बानी बसेको छ ।

तिमी डलरलाई कन्भर्ट गर्छौ
यता म सेन्टमा पसिना चुहाउँछु
अनि मध्य रातको चिसो सिरेटोमा झल्याँस्स बिउझिन्छु
फरक यत्ति हो तिमी आमा बाउलाई तनाव दिन्छौ
यता म फोनबाट भए पनि सान्त्वना र सहानुभुति दिन्छु ।

Comments