मेलबर्न । मोरङको उर्लाबारी ४ मा रहेको नमूना बालगृहको सहयोगार्थ मेलबर्नमा च्यारिटी डिनरको आयोजना हुने भएको छ ।

मोरङ समाज भिक्टोरिया र प्रवासी नेपाली मञ्च भिक्टोरियाको संयुक्त पहलमा उक्त च्यारिटी कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमबाट उठेको सम्पूर्ण रकम बालगृहकी सञ्चालिका मिनादेवी बरालको खातामा सिधै जम्मा गरिने प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष कृष्ण न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रम आगामी अप्रिल १ तारिख शुक्रबार मेलबर्नको ४१९ हाईस्ट्रीट नर्थकोर्ट डाउन अन्डर करी रेष्टुरेन्टमा हुनेछ ।

२०५७ सालमा खोलिएको यो बालगृहमा समाजमा विभिन्न कारणबाट छोडिएका, आफन्त नभएका र सहयोगको आवश्यकता भएका बालबालिकाहरुलाई आश्रय दिदै आएको छ । अहिलेसम्म ४२ जना बालबालिकाहरुलाई यो बालगृहले आश्रय प्रदान गरिसकेको छ । साथै बालगृहमा यौन हिंसाबाट पीडित बालिकाहरुलाई पनि शिक्षादिक्षाको राम्रो व्यवस्था गर्दै आएको नमूना बालगृह सञ्चालक संस्थाकी अध्यक्ष मिनादेवी बरालले बताउनुभयो । बालगृहको सञ्चालनमा बरालकै अध्यक्षतामा रहेको ११ सदस्यीय समिति क्रियाशील रहँदै आएको छ ।

यो नमूना बालगृहलाई २०७१ मा गरिएको सरकारी सर्वेक्षणले नेपालभित्र रहेका ४२ हजार सामाजिक संघसंस्थामध्ये उत्कृष्ट ५ को सूचिमा राखिएको थियो । संस्थाकी अध्यक्ष बराल आफैं पनि बालविवाहबाट पीडित हुनुहुन्छ । आफूले भोग्नुपरेको पीडा महसूस गरेर महिला र बालबालिकाको क्षेत्रमा केही गर्ने अठोटका साथ आफ्नै सम्पत्तिबाट बालगृह सञ्चालन गर्न सुरुवात गरेको उहाँ बताउँनुहुन्छ । सामाजिक क्षेत्रमा राम्रो कार्य गर्दै आएको यो संस्थालाई अहिले भने देशभित्र र देशबाहिरका विभिन्न सहयोगी दाताहरुबाट निरन्तर सहयोग प्राप्त हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष बराल अहिले अष्ट्रेलियाको भ्रमणमा रहनुभएको छ । यही अवसरमा उहाँकै नाममा बैंक खाता खोलेर सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको बालगृहका सल्लाहकार डा. चन्द्रदिपक पोखरेलले जानकारी दिनुभयो ।

Comments

comments