काठमाडौं । दक्षिण कोरियाबाट अब रेमिट्यान्स कम्पनी मार्फत रकम पठाउँन सकिने भएको छ ।

कोरियाले रेमिट्यान्सबाट विदेशमा पनि रकम पठाउन सक्ने नयाँ व्यवस्था गरेपछि यस्तो सुविधा पाउँने भएको हो । यसबाट रोजगारीको आकर्षक गन्तव्य कोरियामा रहेका ३४ हजार बढी नेपाली कामदार पनि प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यसअघि कोरियामा बैंकमार्फत मात्रैै रकम पठाउनसक्ने नीति थियो । त्यसमा परिमार्जन गर्दै रेमिट्यान्स कम्पनीलाई पनि कारोबारमा भित्र्याउने निर्णय लिएको छ । कोरियामा रहेका लाखौं विदेशी कामदारको हितलाई ध्यानमा राखेर मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको कोरिया टाइम्सले जनाएको छ ।

रेमिट्यान्स कम्पनीको मोबाइल एप्लीकेशन प्रयोग गरेरै कोरियाबाट आप्रवासी कामदारले आफ्नो घरमा रकम पठाउन सक्नेछन् । निर्णयअनुसार अब कोरियाबाट पैसा विदेश पठाउन रेमिट्यान्स कम्पनी दर्ता हुनेछन् ।

यसअघि बैंकले मात्र यस्तो सेवा प्रदान गर्ने अनुमति पाएका थिए । यसैका कारण असुरक्षित र अवैधानिक मानिने हुण्डीमार्फत ठूलो रकम नेपाल भित्रिने गरेको थियो ।

अब बीमा कम्पनी, सेयर कारोबार गर्ने कम्पनी, गैह्र बैंक लगायत अन्य कम्पनीले पनि रेमिट्यान्स सेवा प्रदान गर्ने अनुमति पाउनेछन् । नयाँ व्यवस्थाअनुसार एकजना व्यक्तिले वर्षमा २० हजार अमेरिकी डलर मात्र विदेश पठाउन पाउने सीमा तोकिएको छ । १३ लाख कोरियन वन पठाउन ३० देखि ४० हजार वन खर्च गनुपर्ने समाचारमा जनाइएको छ ।

कम्पनी दर्ताको लागि ३ सय मिलियन कोरियन वन चुक्ता पुँजी जम्मा गर्नुपर्नेछ । सरकारको यो निर्णयबाट २० लाख ब्यक्तिहरु प्रत्यक्ष लाभान्वित हुने अनुमान छ ।

नेपालका रेमिट्यान्स कम्पनीहरुलाई पनि अब कोरियामा कारोबार गर्ने बाटो खुलेको छ । अहिले इपीएसमार्फत त्यहाँ जाने कामदारको संख्या ठूलो छ ।

Comments

comments