नागोया । गाडी चलाउँदा चलाउँदै चालकलाई अकस्मात केही भइहाल्यो भने के होला ?

जापानको ओशाकामा गत महिना भएको एउटा घट्नाले यसको जवाफ दिइसकेको छ । जहाँ चालकलाई अचानक हृदयघात हुँदा कारको ठक्करबाट एक जनाको मृत्यु भएको थियो भने अरु थुप्रै घाइते भएका थिए । तर जहाँ समस्या पर्छ जापानसँग त्यसको तुरुन्त उपाय उपलब्ध हुन्छ । सवारी चलाइरहँदा अचानक हुनसक्ने यस्तै अवस्थालाई ध्यानमा राखी आइचीको आइसिन सिइकी कम्पनीले स्वचालित ड्राइभिङ प्रविधिको विकास गरेको छ ।

यो प्रविधिले केही गरेर चालकलाई असुविधा भएको थाहा पाउँने वित्तिकै स्वचालित रुपमा गाडीलाई सुरक्षित र साइडमा लगेर पार्क गरिदिन्छ । कम्पनीले अहिले प्रयोगका रुपमा आफ्ना केही गाडीहरुमा यस्तो प्रविधि जडान गरेको छ । आइचीकै एक कम्पनीले विकास गरेको यो प्रविधिको प्रयोगबाट सवारी दुर्घटनालाई कम गराउँन निकै मद्दत गर्ने कम्पनीको दाबी छ । कहिलेकाहीं राताीको समयमा गाडी चलाउँदा केही गरेर चालक निदाए पनि यो अटोमेटिक प्रविधिले कार र त्यसमा सवार यात्रुहरुको सुरक्षाको जिम्मा लिन्छ ।

यो प्रविधिको गत फेब्रुअरी २७ मा टोक्योस्थित लाइसेन्स सेन्टरमा डेमो परीक्षण गरिएको थियो । उक्त परीक्षणका बेला ४० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको कारको चालकले आफू अचानक बेहोश भएको नाटक गरेको थियो । त्यो थाहा पाउँने वित्तिकै कारमा जडित अटोमेटिक मेशीनले अँग्रेजी भाषामा तपाई ठीक हुनुहुन्छ ? भनेर सोधेको थियो । तर चालकको तर्फबाट कुनै जवाफ नआएपछि कारले तीन सेकेण्डभित्र अटोमेटिक ब्रेक लगाएर स्टेरिङ आफैं घुमाएर कारलाई छेउमा लगेर रोकिदिएको थियो ।

हाललाई यो प्रविधिमा अँग्रेजी भाषा मात्र प्रयोग गरिएको छ । अन्तराष्ट्रिय बजारलाई ध्यानमा राखेर उत्पादन गरिएकोले अँग्रेजी भाषा प्रयोग गरेको कम्पनीले जनाएको छ ।

Comments

comments