मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपाली समुदायको छाता संगठन नेप्लीज एसोसियसन अफ भिक्टारिया न्याभको आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्ने समय सकिएको छ ।

न्याभको आगामी नेतृत्वका लागि अध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ । न्याभको अध्यक्षमा रामचन्द्र सापकोटा र अनुपम पोखरेलले उम्मेदवारी दर्ता गराउँनुभएको हो । सापकोटाले आकृति प्रधान श्रेष्ठको प्रस्ताव र अञ्जना श्रेष्ठको समर्थनमा उम्मेदवारी मनोनयन दर्ता गराउँनुभएको हो । यस्तै पोखरेलको उम्मेदवारीको प्रस्तावक प्रवीण भण्डारी रहनुभएको छ भने समर्थकमा प्रवेश केसी रहनुभएको छ ।

यस्तै खुला तर्फको एकजना उपाध्यक्ष पदमा पनि दुई जनाको उम्मेदवारी परेको छ । न्याभको आगामी कार्यकालको लागि उपाध्यक्षमा उम्मेदवारी दिनेमा तारा गैरे र प्रकाश सेढाइँ रहनुभएको छ । तर महिला उपाध्यक्षमा भने मनिषा राई निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धामा अरु कसैको उम्मेदवारी नपरेपछि उहाँ सर्वसम्मत हुनुभएको हो ।

यस्तै कोषाध्यक्षमा पनि सन्तोष पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ । तर महासचिव पदको उम्मेदवारी मनोनयन भने न्याभले सार्वजनिक गरेको छैन । निर्वाचन समितिका तर्फबाट जोग लिम्बुले सार्वजनिक गर्नुभएको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार पाँच जना कार्य समिति सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ । सदस्यका लागि उम्मेदवारी दिनेमा दावा लामा,अनिलकुमार श्रेष्ठ,दीपक आचार्य,संगीता दाहाल खत्री,खिमराज गौतम र अभिषेक केसी रहनु भएको छ । उम्मेदवारी मनोनयन दर्ता गराउँनुभएकाहरुलाई आफ्नो नाम फिर्ता लिन वा कुनै दाबी विरोधमाथि उजुरी गर्न बुधवार बेलुकीसम्मको समय दिइएको छ ।

आगामी अप्रिल २ मा हुने निर्वाचनमा मतदान गर्न पाउँने ६ सय ३६ जना वैधानिक सदस्यहरुको अन्तिम नामावली पनि प्रकाशित गरिएको छ ।

Comments

comments