काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबारसम्मको मतपरिणामले सभापति शेरबहादुर देउवालाई सुविधाजनक बहुमत दिलाएको छ ।

सभापतिसहित तीन पदाधिकारी र २२ केन्द्रीय सदस्यको नतिजा आउँदा देउवा प्यानलमा सभापतिसहित १५ र पौडेल प्यानलमा महामन्त्री, कोषाध्यक्ष सहित १० सदस्य छन् । महिला, आदिवासी जनजाति, मधेसी र दलिततर्फको समावेशी कोटाका २१ केन्द्रीय सदस्यको नतिजा शनिबार आएको छ । मुस्लिमतर्फका एक सिटमा देउवा प्यानलका फरमुल्ला मन्सुर यसअघि नै निर्वाचित भइसकेका छन् ।

महिला आरक्षतर्फको ६ केन्द्रीय सदस्यमा देउवा प्यानलका चार र पौडल प्यानलका दुई निर्वा्चित भएका छन् । देउवा प्यानलकी डिला संग्रौला पहिलो नम्बरमा निर्वाचित भएकी छन् । उनले १५ सय ६४ मत ल्याएकी छिन् । उनी महिला संघकी अध्यक्षसमेत हुन् ।

देउवा प्यानलकै पुष्पा भुसाल, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र पौडेल प्यानलबाट कमला पन्त र सरिता प्रसाईं विजयी भएका छन् । भुसालले १२ सय ६७, पन्तले ११ सय ३०, प्रसाईंले ९ सय ८७, बस्नेतले ९ सय ३७ र न्यौपानले ९ सय ३५ मत ल्याए । बस्नेत, न्यौपाने, पन्त र प्रसाईं सांसद समेत हुन् ।

आदिवासी जनजातिको खुला ३ पदमा देउवा प्यानलबाट बहादुरसिंह लामा, पौडेल प्यानलबाट चीनकाजी श्रेष्ठ र नेविसंघका पूर्वअध्यक्ष कल्याण गुरुङ निर्वाचित भएका छन् ।

श्रेष्ठले ९ सय ४७, लामाले ७ सय ६७ र गुरुङले ७ सय ३४ मत ल्याए । लामा सांसद हुन् । श्रेष्ठ पूर्वमन्त्री एवं संसदीय दलका प्रमुख सचेतक हुन् । आदिवासी जनजाति महिला २ पदको आरक्षणमा सीता गुरुङ र रत्ना शेरचन विजयी भएका छन् ।
गुरुङले १२ सय ७४ र शेरचनले ८ सय ४६ मत ल्याए । गुरुङ देउवा प्यानल र शेरचन पौडेल प्यानलकी हुन् । दुवै सांसद हुन् । १२ औं महाधिवेशनमा पनि यिनै दुई यही कोटाबाट निर्वाचित भएका थिए ।

मधेसी ३ पदको खुला केन्द्रीय सदस्यमा देउवा प्यानलका अजय चौरसिया, महेन्द्र यादव र पौडेल प्यानलका रामकृष्ण यादव निर्वा्चित भएका छन् । चौरासियाले १३ सय ४२, यादवले १२ सय ३६ र रामकृष्णले १२ सय मत ल्याए ।

यसै कोटाबाट प्रतिस्पर्धा गरेका नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्ण भने झिनो मतान्तरमा पराजित भएका छन् । १२ औं महाधिवेशनमा पनि चौरसिया र यादव यही कोटाबाट सदस्य निर्वाचित भएका थिए ।

मधेसी कोटाबाट निर्वाचित रामकृष्ण यादव नयाँ अनुहार हुन् । उनी पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सांसद पनि हुन् ।

Comments